झापा: झापाको काँकडभिट्टामा आयोजित कला साहित्य उत्सवको सोमबार अन्तिम दिन पत्रकारिता, राजनीति र लैङ्गिक सवालमा बहस गरिएको छ ।

पत्रकारिताका विकृतिका बारेमा पत्रकार महासङ्घका पूर्वअध्यक्ष एवं खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले चिरफार गरे । गाउँलेसँग सुविना श्रेष्ठ र सङ्गीत स्रोता बहसमा सहभागी थिए ।

सहजकर्ता नारायण कँडरियाले झुठा समाचार र खरीद समाचारले नेपाली पत्रकारितामा पारेको प्रभाव बारेमा राखेको प्रश्नको उत्तर दिँदै पत्रकार गाउँलेले ‘फेक न्यूज र पेड न्युज’को शृङ्खलामा एकजना मात्र दोषी नरहेको बताए ।

उनले ‘समाचारमा धेरैको स्वार्थ रहेको हुँदा फेक र पेड न्युज सञ्चारमाध्यममा बढी हाबी हुने गरेको बताए । विश्व पौडेल र खगेन्द्र प्रसाईले ‘समृद्धि यात्राका सङ्कट’ विषयमा, सञ्जीव उप्रेती, भाष्कर गौतम र अमिना सिंहले ‘समाज विज्ञान र मानविकी सङ्कट’ विषयमा चर्को बहस गरेका थिए ।

त्यसैगरी खगेन्द्र सङ्ग्रौला र सिके लालले अभिव्यक्ति स्वतन्त्रताका बारेमा बहस गरेका थिए । शनिबारदेखि शुरु भएको कला साहित्य उत्सव सोमबार सकिएको छ । प्रत्येक २ वर्षको अन्तरालमा रुम टु रिडर्सको आयोजनामा कला साहित्य उत्सव हुने गरेको छ । कार्यक्रममा स्वदेशी तथा विदेशी साहित्यकारको जमघट रहेको थियो । उत्सवमा विचार विमर्शदेखि विभिन्न कवितावाचन, चित्रकला प्रतियोगिता र चरा संरक्षणका लागि तस्बीर प्रदर्शनीसमेत गरिएको थियो ।