भद्रपुरः जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थितिबिनै सात प्रकारका सेवा उपलब्ध गराउन थालेको छ । कार्यालयले मंगलबारदेखि ‘फेसलेस’ प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको हो ।
कार्यालयका अनुसार धार्मिक तथा सांस्कृतिक कार्यक्रम, राजनीतिक तथा सामाजिक कार्यक्रम, जातीय प्रमाणित सिफारिस, नागरिकताको अभिलेख विद्युतीय प्रणालीमा अपलोड, राष्ट्रिय परिचयपत्रको अवस्था, राहदानीको अवस्था तथा प्रहरी सर्जमिन र चालचलनसम्बन्धी सेवा अब कार्यालयमै उपस्थित नभई लिन सकिनेछ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सेवाग्राहीले सम्बन्धित सेवाका लागि तोकिएको अनलाइन पोर्टल, डेडिकेटेड इमेल, ह्वाट्सएप तथा टेलिफोनलगायतका माध्यमबाट सेवा लिन सक्नेछन् । सेवाको एकीकृत व्यवस्थापनका लागि कार्यालयले छुट्टै ‘हेल्प डेस्क’ समेत सञ्चालनमा ल्याएको छ ।
धार्मिक तथा सांस्कृतिक पर्व, जात्रा, उत्सव र मेला सञ्चालनको अनुमति तथा शान्ति सुरक्षासम्बन्धी सेवाका लागि कार्यालयको वेबसाइटमा उपलब्ध अनलाइन लिङ्क प्रयोग गर्न सकिनेछ । त्यस्तै राजनीतिक तथा सामाजिक कार्यक्रमको जानकारी, अनुमति र शान्ति सुरक्षासम्बन्धी सेवा पनि अनलाइन माध्यमबाट लिन सकिने कार्यालयले जनाएको छ ।
नागरिकताको अभिलेख विद्युतीय प्रणालीमा अपलोड, राष्ट्रिय परिचयपत्र र राहदानीको अवस्था बुझ्न डेडिकेटेड ह्वाट्सएप नम्बर तथा प्रहरी सर्जमिन र चालचलनसम्बन्धी जानकारीका लागि डेडिकेटेड इमेल प्रयोग गर्न सकिनेछ ।
सेवाग्राहीले निवेदन दिँदा आफ्नो इमेल वा ह्वाट्सएप नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । सेवासँग सम्बन्धित आवश्यक जानकारी तथा जवाफ सोही माध्यमबाट उपलब्ध गराइने कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई सहज, छरितो र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले ‘फेसलेस’ सेवा सुरु गरिएको बताए ।
उनका अनुसार नयाँ प्रणालीले सामान्य कामका लागि सेवाग्राही पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यता हटाउनुका साथै समय र खर्च बचत गर्नेछ । साथै, कार्यालयमा हुने अनावश्यक भिडभाड घटाएर सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नयाँ प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित फाँटका कर्मचारीलाई अभिमुखीकरणसमेत दिइसकिएको कार्यालयले जनाएको छ । सेवाको प्रभावकारिता र आवश्यकताका आधारमा आगामी दिनमा यसको स्तरोन्नति गर्दै लैजाने तयारी गरिएको छ ।




















