इटहरीः इटहरी निवासी गीतकार, साहित्यिक व्यक्तित्व तथा सामाजिक अभियन्ता भाइसन बर्देवाको सोमबार भावपूर्ण रूपमा अन्तिम विदाई गरिएको छ। इटहरीको सांगीतिक तथा साहित्यिक क्षेत्रमा लामो समयदेखि सक्रिय बर्देवाको निधनपछि संगीत साधना प्रतिष्ठान नेपाल, इटहरीको प्राङ्गणमा अन्तिम विदाई तथा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो।


अन्तिम विदाई कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले नगर सरकारको तर्फबाट संगीत साधना प्रतिष्ठान नेपालको झण्डा ओढाएर बर्देवाप्रति सम्मान व्यक्त गरे। उपमेयर संगीता चौधरीले पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिन्।

bisal 1


बर्देवाको अन्तिम विदाईका लागि कोशी प्रदेशका गीतकार, संगीतकार, गायक–गायिका, साहित्यकार, लेखक, विश्लेषक, प्राध्यापक तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो। उनको योगदानलाई स्मरण गर्दै सहभागीहरूले नेपाली गीत–संगीत, साहित्य र सामाजिक क्षेत्रमा बर्देवाले पुर्‍याएको योगदानको चर्चा गरेका थिए।

bhaeson aantim bidahi 2


बर्देवाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न भारतको दार्जिलिङ र सिक्किमबाट समेत विभिन्न स्रष्टाहरू इटहरी आएका थिए। यसले उनको सिर्जनात्मक सम्बन्ध र नेपाली भाषाको साहित्य तथा संगीत क्षेत्रमा उनले बनाएको सम्बन्धको दायरा नेपालबाहिरसम्म रहेको देखाएको सहभागीहरूको भनाइ थियो।


‘इटहरी हो इटहरी’ले बनाएको अलग पहिचान


भाइसन बर्देवाको सिर्जनात्मक यात्रामा इटहरीसँग जोडिएको उनको चर्चित गीत ‘इटहरी हो इटहरी’ विशेष रूपमा स्मरण गरिन्छ। ३० को दशकको इटहरीलाई चित्रण गर्दै उनले लेखेको उक्त गीतले इटहरीको पहिचानलाई गीतमार्फत व्यापक रूपमा प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।


इटहरीको सामाजिक, सांस्कृतिक र सांगीतिक परिवेशलाई नजिकबाट नियालेका बर्देवाले आफ्नो सिर्जनामार्फत स्थानीय भूगोल, समाज र भावनालाई अभिव्यक्त गरेका थिए। उनका सिर्जनामा राष्ट्रप्रेम, आधुनिक जीवनका अनुभूति तथा मानवीय संवेदनाका विषयहरू समेत समेटिएका छन्।

bhaeson aantim bidahi 3


पछिल्लो समय उनले ‘मनका कुरा’ एल्बममार्फत राष्ट्रप्रेमले ओतप्रोत गीत, आधुनिक गीत तथा गजलहरू श्रोता–दर्शकमाझ ल्याएका थिए। उनका विभिन्न सिर्जना युट्युबमार्फत समेत उपलब्ध छन्।


गीत–संगीतसँगै बर्देवाको साहित्यप्रतिको रुचि पनि उत्तिकै गहिरो थियो। उनकै लगानीमा प्रकाशित ‘सेतो गाई’ नामक पुस्तक मदन पुरस्कार गुठीमा समेत दर्ता भएको बताइएको छ।


एन्जल टेलर्समार्फत सामाजिक पहिचान


बर्देवा गीत–संगीत र साहित्यमा मात्र सीमित थिएनन्। इटहरीमा एन्जल टेलर्स सञ्चालन गर्दै उनले व्यवसायिक क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाएका थिए। व्यवसायसँगै सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय रहँदै आएका उनको निधनले इटहरीको सांगीतिक, साहित्यिक र सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको सहभागीहरूले बताएका छन्।

bisal 2


अन्तिम विदाई कार्यक्रममा सहभागी स्रष्टाहरूले बर्देवा एकै क्षेत्रमा सीमित व्यक्तित्व नभई व्यवसाय, गीत–संगीत, साहित्य र समाजलाई जोड्ने बहुआयामिक व्यक्तित्वका रूपमा रहेको स्मरण गरेका थिए।


गंगाजमुना मुक्तिघाटमा अन्त्येष्टि


भारतको भेल्लोरमा उपचारका क्रममा बर्देवाको निधन भएको थियो। उनी पछिल्लो समय मिर्गौला तथा मुटुसम्बन्धी स्वास्थ्य समस्याबाट पीडित थिए।


सोमबार इटहरीको बुढीखोलास्थित गंगाजमुना मुक्तिघाटमा परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको छ। बर्देवाका श्रीमती र तीन छोरा छन्।


इटहरीको सांगीतिक र साहित्यिक यात्रामा आफ्ना सिर्जना तथा योगदानमार्फत छुट्टै छाप छोडेका बर्देवाको निधनसँगै इटहरीले एक सक्रिय स्रष्टा तथा सामाजिक व्यक्तित्व गुमाएको छ। उनका सिर्जना र योगदान भने इटहरीको सांस्कृतिक इतिहाससँगै लामो समयसम्म स्मरणमा रहनेछन्।