विराटनगरः विराटनगरकै पुरानोमध्येको एक चन्द्र शिव राइस एन्ड आयल मिल विराटनगरस्थित ठुलो मिल चोकबाट बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा सरेको छ । यो मिल विराटनगरको माथिल्लो क्षेत्रकै पुरानो हो। यसको स्थापनापछि नै त्यो क्षेत्र क्रमशः सहरीकरण हुँदै गएको हो। उक्त मिलकै कारण विराटनगरको कञ्चनबारीपूर्वको चोकलाई ठुलो मिल चोक नामकरण गरिएको हो । चन्द्र शिव राइस एन्ड आयल मिल त्यस स्थानबाट सरे पनि त्यसलाई ठुलो मिल चोकले सधैं सम्झाइरहने छ।


विराटनगरमा नेपालकै पहिलो उद्योगका रूपमा विराटनगर जुट मिल सञ्चालनमा आएको थियो। विराटनगरको दक्षिणी क्षेत्रमा स्थापना भएको जुट मिलसँगै मोरङ सुगर मिल, अशोक टेक्सटाइल, म्याच फ्याक्ट्रीलगायत ठुला उद्योग स्थापना भएका थिए। यिनै उद्योगहरूका कारण विराटनगरको दक्षिणी रानी क्षेत्रलाई हाल पनि मिल्स एरियाका रूपमा चिनिन्छ ।


विराटनगर सम्भवतः नेपालकै पहिलो औद्योगिक क्षेत्रका रूपमा पनि परिचित छ । विराटनगरका ठुला उद्योगकै कारण यसले औद्योगिक नगरीको पहिचान बनाएको हो । विराटनगरबाटै नेपालमा मजदुर आन्दोलन सुरु भएको थियो।


विराटनगर जुट मिलबाट पहिलोपटक नेपालमा मजदुरहरूले आफ्ना हक र अधिकारका लागि हडताललगायत आन्दोलन गरेका थिए। मजदुरले हडताल गरेको स्थान हाल पनि हडताली हाटका रूपमा परिचित छ। विराटनगर उद्योग, आन्दोलन, अधिकार, परिवर्तन र प्रजातन्त्रको पर्याय मात्र होइन। ठुला उद्योगहरूले विराटनगरको समृद्धिको मार्गचित्रसमेत कोरेका हुन्।


विराटनगरमा नेपालको औद्योगिकीकरणको सुरुआतमा स्थापना भएका उद्योगहरू यस क्षेत्रका जनताको रोजगारीको माध्यम मात्र नभई किसानका उत्पादनको बजारका रूपमा पनि स्थापित थिए। विराटनगरका उद्योगहरूले यस क्षेत्रसँगै आसपासका जिल्लामा उत्पादित कृषिजन्य वस्तुको प्रशोधन गरेर औद्योगिक उत्पादनका रूपमा विदेश निर्यातसमेत गरेका थिए । यी ठुला उद्योगबाहेक पनि तेल, चामललगायत कृषिजन्य उद्योगहरू पनि विराटनगरमा सञ्चालनमा थिए ।


विशेष गरी स्वदेशी कच्चा पदार्थको प्रयोग गरेर औद्योगिक वस्तु उत्पादन गर्दै आएका विराटनगरका उद्योगहरूले यस क्षेत्रका किसानले उत्पादन गरेका वस्तुको बजारीकरणमा समेत ठुलो मद्दत पु¥याएका थिए। यसकारण झापा, मोरङ, सुनसरीलगायत जिल्लामा पनि ठुलो मात्रामा जुट, कपासलगायत कृषिजन्य वस्तुको उत्पादन गर्न किसानहरू उत्साहित भएका थिए। जुट, कपडा, चिनी, तेल, साबुनलगायत उद्योगका कारण विराटनगर पूर्वी नेपालको प्रमुख औद्योगिक केन्द्रका रूपमा स्थापित भएको थियो ।


तर पछिल्ला दशकमा विराटनगरको औद्योगिक संरचना, उद्योगको प्रकृति, लगानीको आकार र रोजगारीको स्वरूपमा उल्लेख्य परिवर्तन आएको छ। प्रजातन्त्रको स्थापना र पुनःस्थापनासँगै सरकारले सञ्चालन गरेका उद्योगमा चरम राजनीतीकरण देखिन थाल्यो। छिमेकी भारतमा पनि ठुला उद्योग स्थापना हुन थाले । भारतमा औद्योगिक विकास तीव्र हुँदै गए पनि नेपालका उद्योगमा चरम राजनीति हुन थालेपछि उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न छाडे । जसले गर्दा धेरैजसो उद्योग बन्द हुन पुगेको विराटनगरका पुराना उद्योगीहरू बताउँछन्।


विराटनगर जुट मिल, अशोक टेक्सटाइल, सलाई उद्योग, कटन मिल र बटन उद्योगलगायत पुराना उद्योग २०५५ सालतिरदेखि बन्द हुन थालेका थिए। विराटनगरमा स्थापना भएका धेरैजसो पुराना उद्योग अहिले बन्द भइसकेका छन् । पुराना कृषिजन्य वस्तुमा आधारित उद्योगहरू बन्द हुँदै गए पनि विराटनगर उद्योगीहरूको सहरका रूपमा स्थापित भइसकेको थियो।


विराटनगरका उद्योगीहरूले विराटनगर आसपासका क्षेत्रमा निजी स्तरबाट उद्योग खोलेका हुन् । स्थानीय उद्योगीहरूको लगानीमा सुनसरी–मोरङ औद्योगिक करिडोरका रूपमा ठुला तथा साना सयौं उद्योग कोसी राजमार्ग र सहायक राजमार्गका आसपासमा खुल्ने क्रम अझै जारी छ  तर विराटनगर महानगरपालिका क्षेत्रमै भने थोरै मात्रै ठुला उद्योग अहिले अस्तित्वमा छन्।


विराटनगरमा उद्योगसँगै बस्तीको विस्तार हुँदै जाँदा तीव्र रूपमा सहरीकरण भएको छ।


सडक तथा अन्य पूर्वाधार निर्माण भएका स्थानमा पर्याप्त जग्गा नपाइने र जग्गा महँगो भएका कारण विराटनगर आसपासका दुहबी, सोनापुर, बुढीगंगा, कटहरीलगायत क्षेत्रमा उद्योग स्थापना भई सञ्चालन भइरहेका छन्।


आसपासका क्षेत्रमा उद्योग सञ्चालनमा रहे पनि ती उद्योगहरूको आधार क्षेत्र विराटनगर नै भएको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साहले बताए । उनले भने, ‘विराटनगरले यतिबेला औद्योगिक नगरीबाट पहिचान बदलेर उद्योगीको नगरीका रूपमा स्थापित भएको छ।’ साहले विराटनगरलाई साँघुरो घेरामा नराखी फराकिलो रूपमा सोच्नुपर्ने बताए। उनका अनुसार विराटनगर आसपासका क्षेत्रमा उद्योग स्थापना भए पनि ती उद्योग विराटनगरकै देन हुन् । उनले विराटनगरको मात्रै नभई सुनसरी–मोरङ औद्योगिक करिडोरकै साख फर्काउने विषयमा सरकारले गम्भीर रूपमा ध्यान दिन आवश्यक भइसकेको बताए।


उनले विराटनगरभन्दा धेरै पछि औद्योगिकीकरण सुरु भएका वीरगन्ज, भैरहवालगायत क्षेत्रमा उद्योग फस्टाउँदै जाँदा विराटनगर र सुनसरी–मोरङ औद्योगिक करिडोरमा किन उद्योगको विकास सुस्ताउँदै गएको छ भन्नेबारे गम्भीर रूपमा चिन्तन गर्न आवश्यक भइसकेको धारणा राखे ।


नेपालको राजनीतिक उतारचढाव र पछिल्ला राजनीतिक गतिविधिले उद्योगीको मनोबल खस्कँदै गएको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी बताउँछन्। जेनजी आन्दोलनपछिको निर्वाचनबाट नयाँ सरकार गठन भएपछि उद्योगीहरू लगानीको सुरक्षा र लगानीको वातावरण बन्ने विषयमा आशावादी रहेको उनले बताए। लगानीको वातावरण तयार भए पुनः उद्योग खुल्ने क्रम बढ्ने उनले बताए।


सुनिएन व्यवसायीको माग


उद्योगमा गर्ने लगानीभन्दा बढी रकम जग्गाका लागि लगानी गर्नुपर्ने अवस्था अन्त्य गर्न विगत ३० वर्षदेखि यहाँका उद्योगीहरूले औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारसँग माग गर्दै आएका छन्। हाल पनि उक्त माग यथावत् नै छ । धेरै वटा सरकार आएगए पनि यहाँका उद्योगीका माग पूरा गर्नेतर्फ कुनै पनि सरकारले चासो नदेखाएको अध्यक्ष राठीको गुनासो छ। ‘हामीले ३० वर्षभन्दा बढी समयदेखि औद्योगिक क्षेत्र निर्माणको माग राखे पनि अझैसम्म उक्त माग पूरा भएको छैन,’ उनले भने।


सरकारले यस क्षेत्रमा एउटा औद्योगिक क्षेत्र स्थापना गरिदिए उद्योगका लागि जग्गाको समस्या दीर्घकालीन रूपमा समाधान हुने उनले बताए । यस्तै विद्युत्को समस्या पनि यस क्षेत्रका उद्योगहरूले झेल्नुपरिरहेको उनले गुनासो गरे । सुनसरीको अमडुवास्थित साल्ट ट्रेडिङ कर्पोरेसनको जग्गामा औद्योगिक ग्राम बनाउन आफूहरूले सरकारसँग पहल गरिरहेको राठीले बताए । उनले अहिलेको सरकारसँग पनि औद्योगिक ग्राम वा औद्योगिक क्षेत्र स्थापनाका लागि आफूहरूले निरन्तर पहल गरिरहेको जानकारी दिए । उनले भने, ‘उद्योगीहरूका समस्या लिएर अहिले पनि हामी काठमाडौं आएका छौं।’


यस क्षेत्रमा उद्योगका लागि पछिल्ला वर्षहरूमा नयाँ समस्या पनि थपिएको छ । उद्योग सञ्चालन रहेका स्थानमा तीव्र रूपमा सहरीकरणसँगै उद्योग र स्थानीयवासीबिच द्वन्द्व पनि देखिएको छ । उद्योगहरूले प्रदूषण गरेको भन्दै स्थानीयले उद्योग सार्न माग गर्ने गरेका छन् । उद्योग खुल्ने, उद्योगमा काम गर्नेहरूले त्यही वरपर घर बनाउन थाल्ने, पसलहरू खुल्ने र बिस्तारै सहरीकरण भई उद्योगलाई नै विस्थापित हुन बाध्य पार्ने अवस्थाले गर्दा बस्तीभन्दा छुट्टै औद्योगिक ग्राम वा औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने आवश्यकता उद्योगीहरूले औंल्याए।


राजनीतिक प्रतिबद्धता अधुरै


संघीयदेखि स्थानीय निर्वाचनसम्म विराटनगरका उम्मेदवारहरूले विराटनगरको औद्योगिक साख फर्काउने भन्दै घोषणापत्र तयार गर्ने गरेका छन्। उनीहरूको पहिलो अजेन्डा नै विराटनगरको औद्योगिक साख फर्काउने हुने गरेको छ तर चुनाव जितेपछि उनीहरूले आफ्ना अजेन्डा बिर्सने गरेका छन् । विराटनगरका हालका मेयर नागेश कोइरालाले निर्वाचनताका विराटनगरको औद्योगिक साख जोगाउने आफ्नो पहिलो काम हुने बताएका थिए । तर चुनाव जितेर कार्यकाल सकिन लाग्दा समेत उनले औद्योगिक साख फर्काउने विषयमा प्रभावकारी काम गरेको पाइएको छैन।


स्थानीय तहका जनप्रतिनिधि मात्रै नभई संघीय र प्रदेश सांसदहरूले पनि विराटनगरको औद्योगिक साख फर्काउन लागिपर्ने आश्वासन दिने गरेका छन् तर निर्वाचित भए पनि कुनै पनि सांसदले प्रभावकारी रूपमा काम गरेको पाइएको छैन। विराटनगरबाट धेरै जना प्रधानमन्त्री, अर्थमन्त्री भइसकेका छन् तर विराटनगरका उद्योगीहरूले उठाएका उद्योग क्षेत्रका समस्या सम्बोधनमा कसैले पनि पर्याप्त ध्यान दिएको पाइन्न। संघीय सांसदहरू विराटनगर आउने, पुराना खण्डहर बनेका उद्योगको निरीक्षण गर्ने र स्थानीयलाई सञ्चालनको आश्वासन दिने क्रमले पछिल्लो समय पनि निरन्तरता पाएको छ।


पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद र मन्त्रीहरू पनि विराटनगर आएर विराटनगर जुट मिलको अवलोकन गर्ने, फोटो खिच्ने गर्दै सञ्चालनको आश्वासन दिँदै आएका छन्। यो खबर आज प्रकाशित नागरिक दैनिकबाट लिइएको हो ।