इटहरीः  पशुपतिनाथको मुख्य मन्दिरमा गैर–हिन्दु प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि घटनाले नयाँ मोड लिएको छ। घटनासँग जोडिएको आरोपमा इटहरीकी एक महिला पक्राउ परेकी छन् भने पशुपति क्षेत्रको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ।


पक्राउ पर्नेमा इटहरीकी प्रियंका परियार रहेको बताइएको छ। उनलाई काठमाडौंको गौशाला प्रहरी वृत्तको आदेशमा इलाका प्रहरी कार्यालय इटहरीले इटहरीको गैँसार क्षेत्रबाट पक्राउ गरेको जनाइएको छ।


प्राप्त विवरणअनुसार परियारले मुस्लिम समुदायका ओसिम अन्सारीसँग प्रेम विवाह गरेकी हुन्। अन्सारी इटहरीमा ‘आकाश कलेक्सन’का पूर्वसञ्चालकसमेत रहेको बताइएको छ। परियार श्रीमान् अन्सारीसँगै पशुपतिनाथ पुगेको विषयमा सामाजिक सञ्जालमा भिडियो तथा विभिन्न सामग्री सार्वजनिक भएपछि घटना चर्चामा आएको हो।


यसअघि परियारले सामाजिक सञ्जाल टिकटकमार्फत भिडियो सार्वजनिक गर्दै आफू पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश नगरेको दाबी गरेकी थिइन्। उनले आफूलाई मुख्य गेटबाटै सशस्त्र प्रहरीले फर्काएको बताएकी छन्। यद्यपि, सामाजिक सञ्जालमा सार्वजनिक भएका अन्य भिडियो तथा दाबीका कारण घटनाबारे विभिन्न प्रश्न उठेका छन्।

WhatsApp Image 2026-10-07 at 05.56.06


परियारले आफूले नै जिद्दी गरेर श्रीमान् अन्सारीलाई पशुपतिनाथ लगेको बताउँदै पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र भएको उल्लेख गरेकी छन्। आफ्नो धार्मिक आस्थाको केन्द्रमा श्रीमान्लाई सँगै लिएर जानुलाई अन्य उद्देश्यबाट नबुझ्नसमेत उनले आग्रह गरेकी छन्।


सांसद ओलीको प्रश्न– ‘नियम कागजमा मात्रै हो कि व्यवहारमा पनि लागू हुन्छ?’


घटनाबारे प्रतिनिधिसभा सदस्य खुस्बु ओलीले समेत सरकार र पशुपति क्षेत्र विकास कोषको ध्यानाकर्षण गराएकी छन्।

WhatsApp Image 2026-10-07 at 09.37.47

सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै ओलीले विषय मुस्लिम धर्मावलम्बी मन्दिरभित्र प्रवेश गरेको मात्र नभई गैर–हिन्दु प्रवेश निषेध गरिएको धार्मिक क्षेत्रमा उनीहरू कसरी प्रवेश गरे भन्ने मुख्य प्रश्न रहेको बताएकी छन्।


उनले पशुपति क्षेत्र विकास कोषको व्यवस्थाअनुसार गैर–हिन्दुहरू पशुपति क्षेत्रका खुला भाग, घाट तथा बगैँचामा जान सक्ने भए पनि मुख्य मन्दिरमा प्रवेश गर्न नपाउने व्यवस्था रहेको उल्लेख गरेकी छन्।


नियम स्पष्ट हुँदाहुँदै त्यसको कार्यान्वयनमा पशुपति क्षेत्र विकास कोष कहाँ चुक्यो भन्ने प्रश्न गर्दै ओलीले घटनामा कुनै सरकारी दबाब थियो कि थिएन भन्ने विषयसमेत स्पष्ट हुनुपर्ने बताएकी छन्।


pasupati

उनले मुख्य प्रवेशद्वारमा सुरक्षाकर्मीले रोक्ने प्रयास गरे वा गरेनन्, नियम उल्लङ्घन भएको भए कानुनी प्रक्रिया के भयो र पशुपतिनाथ प्रवेशसम्बन्धी नियम अहिले कागजमा मात्र सीमित छ कि व्यवहारमा पनि लागू हुन्छ भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्ने बताएकी छन्।


ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि पनि अनुसन्धान


यसैबीच, घटनाको छानबिनका लागि समिति गठन गरिएको बताइएको छ। पशुपतिनाथ मन्दिरको प्रवेश तथा सुरक्षा व्यवस्थाका क्रममा ड्युटीमा रहेका प्रहरी कर्मचारीको भूमिकामाथि समेत अनुसन्धान थालिएको जनाइएको छ।


गैर–हिन्दु प्रवेश निषेधसम्बन्धी व्यवस्था हुँदाहुँदै सम्बन्धित व्यक्ति मन्दिर परिसर वा मुख्य प्रवेश क्षेत्रमा कसरी पुगे भन्ने विषय छानबिनको मुख्य विषय बनेको छ। सुरक्षाकर्मीले निर्धारित प्रक्रिया पालना गरे/नगरेको तथा घटनामा कसैको लापरबाही वा कमजोरी थियो/थिएन भन्नेबारे समितिले अध्ययन गर्ने बताइएको छ।


पक्राउको कानुनी आधारबारे प्रश्न


यता, इटहरीबाट परियार पक्राउ परेपछि उनको पक्राउको कानुनी आधारबारे पनि प्रश्न उठेको छ। गौशाला प्रहरी वृत्तको आदेशमा स्थानीय प्रहरीले पक्राउ गरेको भनिए पनि उनलाई कुन कसुरअन्तर्गत पक्राउ गरिएको हो भन्नेबारे सम्बन्धित प्रहरी निकायबाट विस्तृत आधिकारिक जानकारी सार्वजनिक भएको छैन।


घटना धार्मिक आस्था, व्यक्तिगत स्वतन्त्रता, मन्दिरको आन्तरिक नियम तथा सुरक्षा व्यवस्थासँग जोडिएकाले यसलाई संवेदनशील रूपमा हेरिएको छ।


सांसद ओलीले धार्मिक रूपमा संवेदनशील विषयलाई उत्तेजना फैलाउनेभन्दा नियम, उत्तरदायित्व र पारदर्शिताका आधारमा सम्बोधन गर्नुपर्ने बताएकी छन्। घटनाबारे समयमै स्पष्ट धारणा सार्वजनिक नगरिए धार्मिक तनावको अवस्था सिर्जना हुनसक्ने भन्दै उनले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।


अब पशुपति क्षेत्र विकास कोष, नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायले मन्दिर प्रवेशसम्बन्धी नियम, घटनाको वास्तविकता, सुरक्षाकर्मीको भूमिका, छानबिनको अवस्था र परियार पक्राउको कानुनी आधारबारे स्पष्ट जानकारी दिनुपर्ने देखिएको छ।