काठमाडौँः  सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलक्षित पालिकास्तरमा ‘हामी आउँदै छौँ’ अभियान सुरु गरेको छ ।  मङ्गलबारदेखि सुरु भएको अभियान सातै प्रदेशका ७५३ स्थानीय तहमा सञ्चालन गरिँदै छ । 


रास्वपाले स्थानीय तहका निर्वाचनको तयारीका निम्ति यस्तो अभियान सुरु गरेको हो । औपचारिक घोषणा नभए पनि स्थानीय तहको निर्वाचन आगामी फागुनमा हुन सक्ने सम्भावना छ ।


स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाबारे बुझाउन, नागरिकका समस्या सुन्न र पार्टी संयन्त्र परिचालनका विषयमा अभियान केन्द्रित हुने प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।


“हामीले सरकार सञ्चालन गरेको छ महिना पुगिसकेको छ, योबिचमा सरकारबाट भएका राम्रा कामबारे जानकारी अभियान अन्तर्गत दिइने छ,” प्रवक्ता खरेलले भने, “जनताको घरमै पुगरे उनीहरूका अपेक्षा सुन्ने र सरकारलाई थप जवाफदेही बनाउने पनि हाम्रो उद्देश्य हो ।”


यो अभियानको अर्को उद्देश्य स्थानीय तह निर्वाचनको तयारी पनि रहेको छ । केन्द्रीय सदस्य र सांसदहरू सबै स्थानीय तहमा पुगेर सरकारले गरेका राम्रा कामको जानकारीसँगै आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटका विषयमा स्थानीय पार्टी सङ्गठनसँग छलफल गरिने छ ।


“स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिएको सरकार हो, जहाँ जनताका दैनिकीसँग सरोकार राख्ने विषय सम्बोधन हुनु पर्छ,” खरेलले भने, “त्यसका लागि योग्य उम्मेदवार छनोटको विधि र प्रक्रियाबारे पार्टी सङ्गठनमा पनि छलफल हुन्छ ।”


‘हामी आउँदै छौँ’ अभियानमा केन्द्रीय सदस्य तथा सांसदलाई आफूले प्रतिनिधित्व गर्ने जिल्लाबाहेक सोही प्रदेशको अन्य जिल्लामा खटाइएको छ । 


अभियान अन्तर्गत दोलखामा खटिएका सांसद समीक्षा बाँस्कोटाले बहुआयामिक उद्देश्य बोकेर आफूहरू पालिकामा जान लागेको बताए । 


उनका अनुसार स्थानीय तहको निर्वाचन, उम्मेदवार छनोट प्रक्रिया र जनताको गुनासोका विषयमा यो अभियानमा विस्तृत छलफल हुने छ । “स्थानीय निर्वाचनका सन्दर्भमा पार्टी सङ्गठनका साथीहरूसँग छलफल त हुने नै भयो यसका अलवा जनताका गुनासा सुन्न र सरकारले गरिरहेको कामबारे जानकारी दिन पनि हामी ७५३ वटै पालिकामा पुग्दै छौँ,” बाँस्कोटाले भने । 


मधेश प्रदेशको धनुषा जिल्लामा खटिएका र सांसद सरिता महतो स्थानीय तहमा कसरी राम्रो उम्मेदवार छनोट गर्न सकिन्छ भन्ने विषयमा स्थानीयका पार्टी सङ्गठनसँग छलफल हुने बताउछन् । “स्थानीय तहको वास्तविक अवस्था बुझेर जनताको समस्या समाधान गर्न सक्ने उम्मेदवार छनोटमा हाम्रो अभियान केन्द्रित हुँदै छ, यसका लागि स्थानीय पार्टी सङ्गठन र नागरिकसँग हामी प्रत्यक्ष भेटेर अन्तर्क्रिया गर्छौं,” सांसद महतोले भने । 


रास्वपाले स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति पनि गठन गरेको छ । आगामी स्थानीय तह निर्वाचनका लागि पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन गरिएको छ । साथै, पार्टीले स्थानीय तहको निर्वाचनमा योग्य, सक्षम र इमानदार उम्मेदवार छनोट गर्ने उद्देश्यले ‘क्यान्डिडेट क्लब’ पनि सञ्चालनमा ल्याएको छ । जसमा आकाङ्क्षीले तोकिएको प्रक्रिया र माध्यमबाट आवेदन दिनु पर्छ ।