इटहरीः पशुपतिनाथ मन्दिरमा मुस्लिम युवकसहित एक जोडी प्रवेश गरेको विषयमा विवाद चर्किएपछि इटहरीबाट नियन्त्रणमा लिइएका प्रियंका परियार र उनका श्रीमान् ओसिम अन्सारीलाई काठमाडौं पठाइएको छ।
इलाका प्रहरी कार्यालय इटहरी स्रोतका अनुसार प्रहरी वृत्त गौशालाबाट प्राप्त पत्र तथा निर्देशनका आधारमा उनीहरूलाई मंगलबार राति इटहरीको गैसार क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएका दुवै जनालाई बुधबार बिहान विराटनगर विमानस्थलबाट हवाईजहाजमार्फत काठमाडौं पठाइएको हो।
पशुपतिनाथ मन्दिरमा गैर–हिन्दूलाई प्रवेश निषेध गरिएको अवस्थामा मुस्लिम युवक अन्सारीसहितको जोडी मन्दिर परिसरमा पुगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चर्चामा आएको हो।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा प्रियंकाले मन्दिर क्षेत्र प्रवेश गर्नुअघि जुत्ता–चप्पल राख्ने स्थानबाट भिडियो बनाएको र त्यसपछि दक्षिणतर्फको प्रवेश क्षेत्र हुँदै अगाडि बढेको देखिन्छ। भिडियोमा उनीहरू पशुपति परिसरभित्र विभिन्न स्थानमा पुगेर भिडियो बनाउँदै अघि बढेको देखिएको दाबी गरिएको छ।
उनीहरू मन्दिरको मूल प्रवेश क्षेत्रसम्म पुगेको र ड्युटीमा खटिएका सुरक्षाकर्मीसँग समेत कुराकानी भएको प्रहरी स्रोतले जनाएको छ। यद्यपि, उनीहरूलाई मन्दिरको गर्भगृहसम्म प्रवेश गर्न दिइएको वा नदिइएको विषयमा सम्बन्धित निकायबाट विस्तृत आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन।
प्रियंकाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा आफू नेपाली नागरिक भएर पनि नेपालमा बस्न गाह्रो भएको तथा आफ्नै इच्छाले श्रीमान् ओसिमलाई पशुपतिनाथ मन्दिर लैजाने प्रयास गरेको बताएकी छन्। उनले सुरक्षाकर्मीले आफूहरूलाई मन्दिरभित्र नपुग्दै फर्काएको दाबीसमेत गरेकी छन्।

तर, सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो र घटनाको क्रमलाई लिएर विभिन्न प्रश्न उठेका छन्। पशुपति क्षेत्रको सुरक्षा व्यवस्थामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वयंसेवक तथा अन्य कर्मचारी परिचालन हुने र विभिन्न स्थानमा सीसीटीभीसमेत जडान गरिएको अवस्थामा निषेधित समूहका व्यक्तिहरू मन्दिर परिसरको प्रवेश क्षेत्रसम्म कसरी पुगे भन्ने प्रश्न उठेको हो।
घटना सार्वजनिक भएपछि पशुपतिनाथको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ। विशेषगरी सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएर भाइरल भएपछि मात्रै घटनाबारे सुरक्षा निकायको ध्यान गएको भन्दै सुरक्षा प्रणालीप्रति प्रश्न उठाइएको छ।
यस विषयमा प्रतिनिधिसभा सदस्य खुस्बु ओलीले समेत प्रश्न उठाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत पशुपतिनाथको प्रवेशसम्बन्धी नियम कागजमा मात्रै सीमित छ कि व्यवहारमा पनि लागू हुन्छ भन्ने प्रश्न गर्दै घटनाको जिम्मेवारी र सुरक्षा व्यवस्थाबारे सरकारले जवाफ दिनुपर्ने धारणा सार्वजनिक गरेकी छन्।
घटनालाई लिएर विभिन्न हिन्दूवादी संघसंस्था तथा समूहहरूले समेत आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। कतिपयले यसलाई सुनियोजित गतिविधिको संज्ञा दिँदै सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्।
यसैबीच, घटना सामाजिक सञ्जालमा व्यापक भएपछि गृह मन्त्रालयको निर्देशनमा छानबिन प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ। पशुपति क्षेत्र विकास कोषले समेत छुट्टै छानबिन प्रक्रिया अघि बढाएको बताइएको छ।
घटनाका बेला ड्युटीमा खटिएका सुरक्षाकर्मी तथा सम्बन्धित कर्मचारीलाई बोलाएर आवश्यक सोधपुछ तथा बयान लिने कामसमेत भइरहेको स्रोतको भनाइ छ। सुरक्षा कमजोरी भएको पाइएमा सम्बन्धित जिम्मेवार व्यक्तिमाथि आवश्यक कारबाही गरिने गृह मन्त्रालय स्रोतले जनाएको छ।
को हुन् प्रियंका र ओसिम ?
इटहरी निवासी प्रियंका परियार सामाजिक सञ्जाल टिकटक तथा फेसबुकमा सक्रिय र चर्चित युवतीका रूपमा परिचित रहेको बताइएको छ। उनी हिन्दू परिवारमा जन्मिएकी भए पनि मुस्लिम समुदायका ओसिम अन्सारीसँग प्रेम विवाह गरेको बताइएको छ।
ओसिम अन्सारी इटहरी मुख्य चोकस्थित रेडक्रस चौतारीको उत्तरतर्फ रहेको ‘आकेश कलेक्सन’का पूर्व सञ्चालक भएको बताइएको छ। उनको व्यवसायसँग सम्बन्धित विषयमा राजस्व कार्यालयमा मुद्दा परेको र जरिवाना तोकिएको दाबीसमेत सार्वजनिक भएको छ। यद्यपि, उक्त राजस्वसम्बन्धी विषयमा सम्बन्धित निकायबाट आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ।

पशुपतिनाथ प्रवेशसम्बन्धी विवाद भने अहिले सुरक्षा व्यवस्थादेखि धार्मिक आस्था, मन्दिरको प्रवेशसम्बन्धी नियम र सामाजिक सञ्जालको प्रयोगसम्म जोडिएको विषय बनेको छ।
इटहरीबाट काठमाडौं पठाइएका प्रियंका परियार र ओसिम अन्सारीमाथि काठमाडौंमा थप अनुसन्धान तथा सोधपुछ अघि बढाइने प्रहरी स्रोतले जनाएको छ। घटनाको वास्तविकता छानबिनपछि मात्रै स्पष्ट हुने बताइएको छ।




















