शारदा उप्रेती
फुर्सद भएको दिन यसो मन्दिर, आश्रमतिर केहीबेर घुम्न मन लाग्छ कहिलेकाहीँ। यसै क्रममा गत हप्ताको मेरो घुमघाम अविस्मरणीय मात्र होइन, मन चसक्क बनाउने खालको रह्यो।
मन्दिरमा दर्शन सकेर नजिकै रहेको सत्तलमा अरू पनि मानिसहरू बसिरहनुभएको रहेछ। यसो खाली ठाउँ देखेँ र म पनि गएर बसेँ। अलि थाकेजस्तो भयो।
कोही उठेर जान्थे, कोही आएर बस्थे, कोही फोटो खिच्थे। सबै आ–आफ्नै धुनमा देखिन्थे। त्यही दृश्य हेर्दै केहीबेर थकाइ मारेँ।
मभन्दा अलि पर कुनातिर एकजना पाको उमेरका बा पहिलेदेखि नै बसिरहनुभएको थियो। म पनि उठेर हिँड्न लाग्दै थिएँ, त्यही बेला ती बाले बेस्सरी खोक्नुभयो। यसो हेरेँ, उहाँलाई निकै गहिरो खोकी लागेको रहेछ। अलि असजिलो भएको देखेपछि त्यसै छोडेर हिँड्न मन लागेन।
नजिकै गएर सोधेँ,
“बा, हजुरलाई निकै गाह्रो भएजस्तो छ। पानी पिउनुहुन्छ?”
उहाँले हातको इसाराले नपिउने संकेत गर्नुभयो।
बिस्तारै उहाँको खोकी कम भयो र केहीबेरपछि रोकियो। उहाँलाई त्यसरी खोकेको देखेपछि मलाई मेरो बुवाको झलझली याद आयो। बुवा पनि यसैगरी बेलाबेला खोकी खानुहुन्थ्यो। उहाँ दमको रोगी हुनुहुन्थ्यो।
त्यो क्षण मलाई आफ्नै बुवा अगाडि भएजस्तो आभास भयो। त्यसैले होला, केहीबेर उहाँसँग कुराकानी गर्न मन लाग्यो।
मैले सोधेँ,
“बुवा, हजुर एक्लै आउनुभएको हो मन्दिर दर्शन गर्न? कति टाढाबाट आउनुभएको होला?”
उहाँ अलि अलमलिएजस्तो गर्नुभयो र केहीबेर चुप लाग्नुभयो। अनावश्यक सोधखोज गर्न नहुने रहेछ, सायद उहाँलाई मन परेन होला भन्ने सोचेर म पनि चुप लागेँ।
“हस् बा, केहीबेर आराम गरेर जानुहोला,” भन्दै म हिँड्न लागेँ।
उहाँले मलाई रोक्दै भन्नुभयो,
“छोरी, एकछिन बसेर जानुहोस्। अघि नानीले सोध्दै हुनुहुन्थ्यो नि मलाई। म सधैँजसो केहीबेर यहाँ आएर बस्छु। यसो मानिसहरू आएको–गएको हेर्न राम्रो लाग्छ। के गर्नु नानी, दिन कटाउनै पर्यो। म यही पछाडिको रातो रङको घर छ नि, हो त्यहीँ बस्छु। त्यहाँ मजस्ता हामी धेरै जना बस्छौँ।”
मैले सोधेँ,
“बुबा, त्यो त वृद्धाश्रम हो नि, होइन त?”
“हो नानी,” बाले भन्नुभयो।
मलाई थाहा छैन किन हो, उहाँको कुरा अझै सुन्न मन लाग्यो। तर धेरै सोध्दा झन् पीडा हुने हो कि भन्ने डर पनि लागिरहेको थियो।
हिम्मत गरेर सोधेँ,
“हजुर यहाँ बस्नुभएको कति भयो?”
बाले बिस्तारै भन्नुभयो,
“यहाँ बस्न थालेको आठ वर्ष भयो नानी। काल पर्खिनु छ। मसँगै आएका, मभन्दा पछि आएका कति गइसके। आफ्नो पालो कुर्नै पर्दो रहेछ नानी। मर्ने आँट गर्न पनि सकिएन।”
उहाँले यसो भनिरहँदा उहाँको अनुहारमा उहाँले भोग्नुभएको दुःख, पीडा, अपहेलना र तिरस्कार कति गहिरो छ भन्ने कुरा प्रस्ट झल्किरहेको थियो।
मैले फेरि सोधेँ,
“बुबा, हजुर कसरी यहाँ आइपुग्नुभयो? के बाध्यता पर्यो हजुरलाई? भन्न मिल्छ?”
केहीबेर चुप लागेर बाले भन्न थाल्नुभयो,
“नानी, म यो कुरा एक दिन सबै खोलेर कसैलाई भनेर मन हलुका पार्न चाहन्थेँ। तर कसैलाई भन्न सकिरहेको थिइनँ। किनकि यो कुरा सुनेर कसैले मेरा छोराबुहारी र परिवारसम्म पुर्याइदेलान् भन्ने डर छ मलाई। मैले आश्रममा समेत मेरो कोही छैन भनेको छु।”
उहाँले केहीबेर रोकिएर फेरि भन्नुभयो,
“मेरा दुई भाइ छोरा थिए। एउटा १५ वर्षको उमेरदेखि बेपत्ता छ। त्यही छोराको पीरले आमा रोगाएर बितिन्। अर्को छोरा सरकारी जागिरे छ। बुहारी पनि जागिर गर्छिन्। एक नातिनी र दुई नाति छन्। बजारबाट केही पर राम्रो पक्की घर छ र थोरै खेत पनि छ। त्यो खेत मैले आफ्नै कमाइले किनेको हुँ।”
बाको यति कुरा सुनिसकेपछि मैले भनेँ,
“बा, छोराबुहारी पढेलेखेका हुनुहुँदोरहेछ। सबै राम्रै रहेछ। सबैको घरमा अलिअलि ठाकठुक त भइहाल्छ नि। जे भए पनि घर भनेको त घरै हो नि बा। यो बुढेसकालमा त घरमै सजिलो होला नि। सबैको माया चाहिने बेला किन यसरी हिँड्नुभयो त? यहाँ बस्ने–खाने व्यवस्था कस्तो छ बा?”
बाले लामो सास फेर्दै भन्नुभयो,
“हो, सबैले बाहिर हेरेर देखेको भन्ने हो। तर भित्री चोट न देखाउन सकिन्छ, न त सहन नै। आमा थला परिन्। दिनरात आफैँ स्याहारेँ। सधैँकी बिरामी हुन्, यस्तै हो भन्ठान्थेँ। कति रात नसुती उज्यालो भयो, कति दिन नखाई बसियो, कसैले वास्ता गरेन।”
“दुईजना छँदासम्म त दुःखसुखका कुरा गर्थ्यौँ। सँगै रुन्थ्यौँ, हाँस्थ्यौँ। जसोतसो चल्दै थियो। आमा बितेपछि त म बस्नै सकिनँ।”
बाको स्वर बिस्तारै भारी हुँदै गयो।
“खोकी लाग्यो, खान लागेको देखेपछि ‘खाक्क र खुक्क सुरु भयो’ भन्ने। गर्मी भयो, पङ्खा चलायो भने ‘पैसा कति उठ्छ, कहाँबाट आउँछ?’ भन्ने। घरमा को छ, नोकर किन राखेको, सबैको हिसाब खोज्ने।”
“यसै फलफूल खान मन लाग्दा कहिलेकाहीँ खायो भने पनि ‘यो बच्चाहरूका लागि ल्याएको हो, सबैले खाए कहाँ पुग्छ? बुढेसकालमा खानेले त बेलैमा कमाएर राख्नुपर्छ’ भन्ने।”
“के छ र यहाँ मिठो–मिठो खानलाई? पुर्ख्यौली सम्पत्ति...”
त्यसपछि उहाँले केही भन्न सक्नुभएन।
बाका आँखा रसाइसकेका थिए।
मैले उहाँलाई रोक्दै सोधेँ,
“यहाँ बसाइ र खानपान कस्तो छ त बा?”
उहाँले केहीबेर सोचेर भन्नुभयो,
“वचनको वाण र हेलाले दिएको व्यञ्जनभन्दा श्रद्धाले दिएको जे जस्तो भए पनि अमृत हुँदो रहेछ नानी। महलभित्रको मलमल, जहाँ मन खुसी हुँदैन, अपहेलना र तिरस्कार मात्र हुन्छ, त्योभन्दा सुकुलमाथि बिछ्याइएको तन्नामा पनि आनन्दको निद्रा आउँदो रहेछ।”
“जहाँ आफ्नो ठान्ने कोही हुँदैन र आफ्नोपनको महसुस हुँदैन, त्यहाँ बसेर एक दिन बिताउन पनि धेरै गाह्रो हुँदो रहेछ नानी। अब म सायद धेरै बाँच्दिनँ पनि होला। मलाई यहीँ मर्ने इच्छा छ।”
मैले सोधेँ,
“कोही खोज्न आउनुभएको छैन अहिलेसम्म?”
उहाँले भन्नुभयो,
“छैन। नआउन पनि। मलाई त्यो नर्कजस्तो संसारमा फर्किन पटक्कै मन छैन। मैले त्यही डरले यहाँ पनि मेरो कोही छैन भनेको छु।”
उहाँ केहीबेर रोकिएर फेरि भन्नुभयो,
“नानीलाई मैले छोरीजस्तै लागेर यति कुरा भनेँ। यो कुरा कतै नभनिदिनुहोला है। नत्र तपाईंलाई पाप लाग्नेछ।”
मैले उहाँलाई ढाडस दिँदै भनेँ,
“पक्कै पनि भन्दिनँ हजुर। हजुर मेरो बुवासमान हुनुहुन्छ। पीर नगर्नुस् बा।”
“हस् बा, म कहिलेकाहीँ भेट्न आउँछु। छोरी सम्झनुहोला,” भन्दै म उहाँसँग बिदा भएँ।
तर उहाँसँग बिदा भएर हिँडेको यति समय बितिसक्दा पनि मन भने त्यहीँ अड्किएको छ।
अहिले पनि मन कस्तो–कस्तो भइरहेको छ।
बाको त्यो खोकी, रसाएका आँखा, पीडाले भरिएको अनुहार र अन्तिम वाक्य बारम्बार कानमा गुञ्जिरहन्छ— ‘मलाई यहीँ मर्ने इच्छा छ।’
सायद, वृद्धाश्रममा बस्ने हरेक वृद्धसँग यस्तै कुनै न कुनै कथा होला। बाहिरबाट हेर्दा उनीहरू एउटा आश्रममा बसिरहेका देखिन्छन्, तर उनीहरूको मनभित्र कति ठूलो घर भत्किएको हुन्छ, कति सम्बन्धहरू टुटेका हुन्छन् र कति पीडा दबिएको हुन्छ— त्यो बुझ्न उनीहरूको आँखामा हेर्नुपर्ने रहेछ।
बिचारा बा !




















