काकरभिट्टाः नेपालमा निलो नम्बर प्लेटका गाडी कूटनीतिक नियोगका गाडी हुन् । निलो नम्बर प्लेटमा कूटनीतिज्ञहरू यात्रा गर्छन् । तर, ६१–०–३४६ नम्बरको निलो नम्बर प्लेटको गाडीमा भने कूटनीतिज्ञहरू यात्रा गर्दैनन् । यात्रा गर्छन् पुस्तकहरूले । पुस्तकमा पनि बालबालिकाका प्रिय पुस्तकले यात्रा गर्छन् ।

शनिबारबाट यो बुक बस झापाको काकरभिट्टामा भएको कला साहित्य उत्सवमा छ । बालबालिकाले मनोरञ्जन र अध्ययन यहाँ आएर गर्छन् । यसरी अध्ययन गर्नेमा पर्छन् अरुणोदय स्कुलका कक्षा ६ का विद्यार्थी सन्दीप श्रेष्ठ र पशुपति स्कुलका कमल मैनाली । शनिबार बुक बसमा भेटिएका मैनाली इन्साइक्लोपेडिया हेर्दै थिए ।

श्रेष्ठले भने, ‘गिनिज बुक अफ वल्र्ड रेकर्डसमा आँखा कुदाइरहेको थिएँ । आफूले नयाँ बुक हेर्न र पढ्न पाएको भन्दै मैनाली खुशी देखिए । भने, ‘स्कुल र घरमा नभएको बुक याँ पाएर पढ्न आको ।’ श्रेष्ठले पनि मैनालीकै कुरा दोहो¥याए । श्रेष्ठ र मैनालीसँगै आएका अन्य बालबालिकाले पनि बुक बसमा नयाँ पुस्तक पाइने भएकाले आएको बताए ।

खानेपानी संस्थानको कार्यालयमा शनिबारबाट शुरु तीन दिने उत्सवमा शुरुबाटै बुक बस लोकप्रिय भएको बुक बसकी इन्स्ट्रक्टर दीपा कार्कीले बताइन् ।

लगातार बालबालिकाको भीड हुने बुक बसमा दिनभरमा औसत ३ सय बालबालिका आउने कार्कीले बताइन् । कार्कीसहित ६ जनाको समूहमा आएको अमेरिकी दूतावासको बुक बस परियोजना झापामा अन्त जस्तै लोकप्रिय भएको कार्की बताउँछिन् । उनी भन्छिन्, ‘बालबालिकामा यो परियोजना धेरै रुचाइएको छ ।’

अमेरिकी सरकारले सन् २०१३ को नोभेम्बरबाट नेपालमा बुक बस परियोजना सञ्चालन गरेको हो । परियोजना सञ्चालन गरेपछि बुक बस ल्याउन काठमाडौ बाहिरबाट पनि थुप्रै आग्रह आएको परियोजनाकी इन्स्ट्रक्टर कार्कीले बताइन् ।

buk bus  (2)