जीन्दगीको यो अलमल
हिड्दै जाँदा,चौबाटोमा पुगेपछि
कुन बाटो हिडौ र कुन छोडौ जस्तो ।

दोधारमा रूमल्लिएर
जिन्दगीदेखि वाक्क लागेको छ
प्रिती, पिर र तिर भएर
खिल परेको काँडो जस्तो भएको छ ।
जागिर खाउँ कि ओकलौं ?
पढाइ समाउँ कि,छोडौ भएको छ ।

उफ !
तँछाड मछाड जीन्दगीका समस्याहरूले
यसरी रिग्याईरहेछ , जसरी
अगेनामा वल्दै गरेका कोईलाबाट
चिट चिट गर्दै,झिल्काहरू
धुँवाले भुमरी पार्दै,दलानतिर लठ्ठ्याईरहेछ ।

उफ !
यी भीमकाय तनावहरूका वीच
मरन्च्याँसे पिरती के फस्टाउला र खैं ?

आज प्रणय दिवस
प्राणै जाने गरी
समस्याहरूले रनभुल्ल पारेको छ
प्रेमिका फुलेर
पाउरोटी जस्तै भएकी छ ।
हाकिम काममा पेलिरहेछ
त्यसरी त भाउजु हुटेलकी साहुनीले
परौठा पनि वेल्दिनन्।्
परीक्षा आउन,एक औशी पनि छैन ।
घरवेटीले महिना पुग्यो भनेको
एक कोरी दिन नै भईसक्यो
पसलेको वाँकीले त्यो बाटै नहिडेको
हप्ता दिन नाघी सक्यो ।

उफ !
यी भीमकाय तनावहरूका वीच
मरन्च्याँसे पिरती,के फस्टाउला र खैं ?!

घडीको सुइ
अफिसका वही खातामा चल्दा चल्दै
आजकल त लाग्छ
म नै समयसूचक हूँ
पाले दाइले मलाई नै हेरेर,घन्टी हान्छन्। ।
ठुली भाउजु,नानीलाई टिफिन पु¥याउछिन्।
घडीका प्रत्येक काँटाले समयलाई होइन
मलाई घुमाईरहेछन्।
यत्ति हो कि,घडीका काँटा रोकिदा
फेर्न मिल्छ –जीन्दगीको मिल्दैन ।

आज प्रणय दिवस
काममा पटक्कै मन छैन
अफिसको पर्दा लगाउँछु,
मन मान्दैन फेरी खोल्छु
बाटोमा प्रेम जोडीका ताँती देखिन्छन्
थाहा छैन,यी जोडी भावनामा वहन्छन् अथवा
मेडिकल पसलमा गएर ठोकिन्छन्
या पत्रिकाका हेडलाईन बनेर समाचारमा आउछन् !

सोच्दासोच्दै
भीडसँग आफै हराउछु
उ रिसाउँछे, म फकाउँछु
म रिसाउँछु, उ फकाउँछे
सोच्दासोच्दै काँटा रोकियो
अझै सत्र बटा ढड्डा वाँकी छ अड्डाको
हाकिम भन्दैछ –यो पाराले तनखा
पाक्दैन है,पाक्दैन !

उफ !
यी भीमकाय तनावहरूका वीच
मरन्च्याँसे पिरती के फस्टाउला र खैं ?

नोकरी,जागीर भन्दा ज्यादा, जा अनि गीर भएको छ ।
तलव पनि,लवले गर्दा तँ न खा भएको छ ।
मिल्ने भए यो समस्याको पोको खोली
खुसी जति थाती राखी,
नानाभाँती दुःख जति
मिले वेचौला नत्र साटौंला भएको छ ।

किनकी,
विना निम्तो आएको पाहुना जस्तो
यो प्रणय दिवस विर्दा नै गर्न नपरी
आफै जानेर गए हुन्थ्यो भएको छ ।

संयोग र संवेगमा होइन
आवेगमा आई सम्भोगमा टुंगिने
समर्पणमा होइन आकर्षणमा
छताछुल्ल असरल्ल हुने यो प्रणय दिवस बरू नआएकै भए राम्रो हुने थियो ।

उफ !
यी गन्दकीहरूका बीच
जिन्दगीको प्रिती के फस्टाउला र खैं ?!