इटहरीः कवि नदीशको एकल कविता वाचन कार्यक्रम ‘नदीशको लयमा हिउँद’ शनिबार भव्य रूपमा सम्पन्न भएको छ।
सङ्गीत साधना प्रतिष्ठानको सहकार्यमा सम्पन्न कार्यक्रममा कवि नदीशले प्रायः अमेरिका बसाइका क्रममा अनुभूत गरेका चिसो मौसम, एकान्त, संवेदना र जीवनका सूक्ष्म अनुभूतिहरूलाई कवितामार्फत प्रस्तुत गरेका थिए । उनले हिमदृष्टि, यस्तो हुनु, अचेत सभ्यताको माझबाट, म फेरि आउँछु, रोकिँन मन छ नजाऊ भनिदिने कोही छैन, झरी पर्दा, बिरामी, र मौन बस्न देऊ१ शीर्षकका कविता वाचन गरे । जसले दर्शक–श्रोताको मन छोएको थियो।
कार्यक्रममा अन्य साहित्यिक तथा सङ्गीतिक प्रस्तुति पनि समावेश थिए। विवेक विवश रेग्मीले ‘यस्तै रहिरहोस् यो साँझ’ कविता वाचन गरे । जेबी थुलुङले बाँसुरी वादनमार्फत कार्यक्रमलाई सङ्गीतिक रङ दिए । गितारमा श्याम सुनुवारको साथले वातावरण अझ भावपूर्ण बनेको थियो।

मुख्य अतिथि मनु मञ्जिलले कवि नदीशलाई बधाई दिँदै पृथ्वीमा भएका सुन्दर कुराहरूको लहरमा कवितारूपी सुन्दरता थप्दै लगेकोमा कवि नदीशको प्रशंसा गरे । उनले नदीशका कविताहरूले मौन, प्रेम र अस्तित्वबीचको सूक्ष्म सम्बन्धलाई सशक्त ढङ्गले प्रस्तुत गरेको उल्लेख गरे।
कार्यक्रमको अन्त्यमा कवि नदीशले प्रस्तुत गरेको कविता हराएका हुँदैनन् मौन बस्नेहरू हुन्छन् अस्तित्वको लडाइँमा हुन्छन् प्रकृतिको समीप प्रेमको सबैभन्दा‘’ले सम्पूर्ण सभाहललाई भावुक बनाएको थियो ।
साहित्य, सङ्गीत र संवेदनाको संगम बनेको उक्त साँझले इटहरीको साहित्यिक परिवेशलाई थप समृद्ध बनाएको सहभागीहरूको प्रतिक्रिया थियो।





















