इटहरीः सुनसरीमा लागूऔषध ब्राउन सुगरविरुद्ध प्रहरीले चलाएको छुट्टाछुट्टै अभियानमा तीन जना पक्राउ परेका छन्। प्रहरीले बराहक्षेत्रबाट एक युवक र कोशी गाउँपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रबाट दुई जनालाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराहक्षेत्र नगरपालिका–२ पुनर्बासका २५ वर्षीय सञ्जीव राई मंगलबार दिउँसो पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय चतराबाट प्रहरी नायब निरीक्षक किरण मोक्तानको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
पटनाली पुलबाट पुनर्बासतर्फ पैदल जाँदै गरेका राईलाई शंकाका आधारमा चेकजाँच गर्दा दुई पोका ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। बरामद लागूऔषध प्लास्टिकसहित ३ ग्राम १८० मिलिग्राम र प्लास्टिकबाहेक २ ग्राम ५७५ मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
राईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ।
सीमा क्षेत्रमा शरीरका गोप्य भागमा लुकाएको ब्राउन सुगर बरामद
यसैबीच सुनसरीकै कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले थप दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंकाका आधारमा जाँच गर्दा शरीरका गोप्य भागमा लुकाएर ल्याइएको लागूऔषध फेला परेको हो।
कात्तिक १६ गते साँझ करिब ५ः३० बजे जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकही र कोशी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट कुकुरसहित खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का ३१ वर्षीय बद्री स्याङ्बो तामाङ र पाँचथरको याङवरक गाउँपालिका–१ की २१ वर्षीया निस्मा राई रहेका छन्।
प्रहरीका अनुसार शरीर खानतलासी गर्ने क्रममा निस्मा राईले गोप्य अंगभित्र लुकाएर ल्याएको ११ ग्राम १३ मिलिग्राम र बद्री स्याङ्बो तामाङले मलद्वारमा लुकाएर ल्याएको ६ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।
बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
सुनसरीका विभिन्न स्थानमा भएका यी छुट्टाछुट्टै कारबाहीमा तीन जना पक्राउ पर्नुका साथै कुल १४ ग्राम ३८८ मिलिग्राम ब्राउन सुगर (प्लास्टिकबाहेकको तौल) बरामद भएको छ।




















