इटहरीः उदयपुरको बेलका नगरपालिका–८ दिवाजोरमा ठूलो परिमाणमा गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको घटनाले सुरक्षा निकायको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। सशस्त्र प्रहरी बलले ट्रकबाट ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद भएको आधिकारिक विवरण सार्वजनिक गरे पनि स्रोतले भने उक्त ट्रकमा करिब १३ हजार किलो गाँजा लोड रहेको दाबी गरेको छ। यसले सार्वजनिक गरिएको परिमाण र प्रारम्भिक सूचनाबीच करिब ५ टनको अन्तर देखाएको छ।


कात्तिक १५ गते साँझ करिब साढे ४ बजे बेलका–८ स्थित दिवाजोर क्षेत्रमा गाँजा बोकेको १२ चक्के ट्रक सुरक्षाकर्मीको नियन्त्रणमा परेको थियो। ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको सूचना सुरक्षा निकायका उच्च अधिकारीसम्म पुगिसकेको अवस्थामा भएको उक्त अपरेसन अहिले आफैँमा अनुसन्धानको विषय बनेको छ।


घटनाको भोलिपल्ट कात्तिक १६ गते दिउँसोसम्म पनि बरामद गाँजाको आधिकारिक विवरण सार्वजनिक नभएपछि नेपाल प्रेसले यसबारे चासो देखाएको थियो। त्यसपछि मात्रै सशस्त्र प्रहरी बलले विज्ञप्ति जारी गर्दै ट्रकबाट ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद भएको जानकारी सार्वजनिक गर्‍यो।


सशस्त्र प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इन्टेलिजेन्स ब्युरो, नं. ४ गण सुनसरी र नं. ५ गण उदयपुरको संयुक्त टोलीले मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा निगरानी तथा चेकजाँच गरेको थियो। सोही क्रममा प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको अशोक लेल्यान्ड १२ चक्के ट्रकमा २४६ वटा प्लास्टिकका बोरामा लुकाएर राखिएको गाँजा फेला परेको थियो।


सशस्त्र प्रहरीले बरामद गाँजा र ट्रक आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको जनाएको छ।


तर, घटनाको सूचना पहिले नै उच्च तहसम्म पुगिसकेको, ट्रक नियन्त्रणमा लिएपछि पनि लामो समयसम्म आधिकारिक विवरण सार्वजनिक नभएको र बरामद परिमाणबारे फरक–फरक दाबी आएको विषयले घटनालाई थप शंकास्पद बनाएको छ।

WhatsApp Image 2026-11-03 at 17.54.33


पूर्वसूचना थियो, तस्कर कसरी उम्किए ? 

नेपाल प्रेसलाई प्राप्त जानकारीअनुसार गाँजा ओसारपसार भइरहेको सूचना सशस्त्र प्रहरी बल कोशी प्रदेशका डीआईजी मनिष थापा र कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी शेखर खनालसम्म पुगेको थियो।


नेपाल प्रहरीका डीआईजी खनालले पनि गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त भएको स्वीकार गरेका छन्। उनका अनुसार सूचना आएपछि नेपाल प्रहरीको टोलीसमेत परिचालन गरिएको थियो।


‘सूचना मलाई पनि आएको थियो, हामीले पनि टोली खटाएका थियौँ। तर सशस्त्र प्रहरीको टोलीले ट्रक नियन्त्रणमा लियो,’ डीआईजी खनालले भने।


तर, दुवै सुरक्षा निकायले पूर्वसूचना पाएको अवस्थामा पनि गाँजा ओसारपसारमा संलग्न मुख्य व्यक्तिहरू पक्राउ पर्न सकेनन्। ट्रक नियन्त्रणमा परे पनि चालक र त्यसलाई स्कर्टिङ गरिरहेका व्यक्तिहरू भने फरार भए।


स्रोतका अनुसार सशस्त्र प्रहरीको रामपुर बेस क्याम्पबाट खटिएको टोलीले कोशीपारि सडकखण्डमा चेकिङ राखेको थियो। गाँजा लोड गरिएको ट्रकलाई केही व्यक्तिले मोटरसाइकलमार्फत अगाडि–पछाडि रहेर स्कर्टिङ गरिरहेका थिए।


चेकिङ देखेपछि ट्रक फर्काउने प्रयास गरिएको र सोही क्रममा सुरक्षाकर्मीले नियन्त्रणमा लिएको स्रोतको दाबी छ। तर, ट्रकका चालक र स्कर्टिङमा संलग्न व्यक्तिहरू भाग्न सफल भए।


लागुऔषध तस्करीको यति ठूलो कारोबारमा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउ अनुसन्धानको महत्त्वपूर्ण पक्ष हो। पूर्वसूचनाका आधारमा सुरक्षा टोली परिचालन हुँदाहुँदै पनि उनीहरू कसरी उम्किए भन्ने प्रश्नको जवाफ भने अहिलेसम्म स्पष्ट भएको छैन।

gaja


ट्रक ल्याउन लागेको समयबारे अधिकारीकै फरक भनाइ

घटनामा अर्को विवाद ट्रक नियन्त्रणमा लिएपछि सम्बन्धित प्रहरी कार्यालयसम्म पुर्‍याउन लागेको समयलाई लिएर देखिएको छ।


कात्तिक १६ गते बिहान ११ बजे सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी मनिष थापालाई सम्पर्क गर्दा उनले ट्रक कार्यालयसम्म ल्याउने काम भइरहेको बताएका थिए।


उनका अनुसार कात्तिक १५ गते साँझ ५ बजेर २२ मिनेटमा ट्रक नियन्त्रणमा लिइएको थियो। ट्रक बाटोमा हिलोमा फसेका कारण ल्याउन ढिलाइ भएको उनको भनाइ थियो।


तर, इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर अश्मिन दोलाङको भनाइ भने फरक छ। उनले ट्रक ल्याउन ढिलाइ हुनुको कारण बाटो साँघुरो हुनु रहेको बताएका थिए।


उनका अनुसार साँघुरो सडकमा ट्रक छाडेर चालक फरार भएका थिए। त्यसपछि बिहान स्काभेटर प्रयोग गरेर मात्रै ट्रक निकाल्न सम्भव भएको थियो।


एउटै घटनाबारे सशस्त्र प्रहरीका प्रदेश प्रमुखले हिलोमा फसेको कारण देखाउनु र नेपाल प्रहरीका इन्स्पेक्टरले सडक साँघुरो भएर स्काभेटर प्रयोग गर्नुपरेको बताउनुले अधिकारीहरूबीचको विवरणमै एकरूपता देखिँदैन।


दिवाजोर क्षेत्रदेखि सशस्त्र प्रहरीको रामपुर बेस क्याम्पसम्मको दूरी सामान्य अवस्थामा करिब दुई घण्टाभित्र पार गर्न सकिने बताइन्छ। तर, साँझ नियन्त्रणमा लिइएको ट्रक भोलिपल्ट बिहान मात्रै इलाका प्रहरी कार्यालय बेलकासम्म पुर्‍याइएको थियो।


ट्रक रातभर कहाँ रोकियो ?  स्काभेटर कुन समयमा प्रयोग गरियो ?  घटनास्थलको मुचुल्का कहिले तयार पारियो ? गाँजाको परिमाण कसरी यकिन गरियो ? यी महत्त्वपूर्ण प्रश्नमा दुवै सुरक्षा निकायबाट स्पष्ट विवरण सार्वजनिक भएको छैन।


१३ टन गाँजा लोड भएको दाबी, बरामद देखियो ७।८ टन मात्रै

यो घटनाको सबैभन्दा गम्भीर प्रश्न गाँजाको परिमाणलाई लिएर उठेको छ।


नेपाल प्रेसलाई प्राप्त स्रोतको दाबीअनुसार अशोक लेल्यान्डको उक्त १२ चक्के ट्रकमा करिब १३ हजार किलो अर्थात् १३ टन गाँजा लोड गरिएको थियो। तर, सशस्त्र प्रहरीले सार्वजनिक गरेको विवरणमा ७ हजार ८२६ किलो ८०० ग्राम मात्रै उल्लेख छ।


यस हिसाबले प्रारम्भिक सूचनामा उल्लेख भएको परिमाण र आधिकारिक रूपमा सार्वजनिक गरिएको परिमाणबीच करिब ५ हजार १७३ किलो २०० ग्रामको अन्तर देखिन्छ।


यति ठूलो परिमाणको अन्तर सामान्य विषय होइन। यदि ट्रकमा साँच्चै १३ टन गाँजा लोड थियो भने बाँकी गाँजा कहाँ गयो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। अर्कोतर्फ, स्रोतले दाबी गरेको १३ टनको परिमाण पुष्टि गर्ने स्वतन्त्र प्रमाण पनि सार्वजनिक भएको छैन।


त्यसैले बरामद गाँजाको वास्तविक तौल, बोराको संख्या, प्रत्येक बोराको तौल, तौल गरिएको स्थान र समय तथा मुचुल्कामा उल्लेख भएको विवरण सार्वजनिक गर्नु आवश्यक देखिन्छ।


ट्रक नियन्त्रणमा लिएपछि तत्कालै सार्वजनिक विवरण नआउनु र रातभरको प्रक्रियाबारे अस्पष्टता रहनुले बरामद परिमाणको विश्वसनीयतामाथि थप प्रश्न जन्माएको छ।


२१ दिनको अपरेसन सफल भएको सशस्त्रको दाबी

यता सशस्त्र प्रहरी बलले भने गाँजा लुकाइएको वा परिमाणमा हेरफेर गरिएको भन्ने आशंकालाई अस्वीकार गरेको छ।


सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले गाँजा लुकाउने विषय कल्पनासमेत गर्न नसकिने बताएका छन्। उनका अनुसार अपरेसन सफल बनाउन लामो समयदेखि विभिन्न युनिट परिचालन भएका थिए।


‘गाँजा लुकाउने प्रसंग आउँदैन। रातभरि धेरै युनिट खटिएको थियो। २१ दिनको निरन्तरको मेहनतले यो अपरेसन सफल भएको हो,’ उनले भने।


ट्रकमा १३ हजार किलो गाँजा रहेको भन्ने दाबीलाई पनि उनले प्रमाणविहीन बताएका छन्।


‘१३ क्विन्टल गाँजा लोड गरेको कसले देख्यो खोइ प्रमाण ? ’ डीएसपी थापाको प्रश्न छ।


सशस्त्र प्रहरीको यो जवाफले बरामद परिमाणमा हेरफेर भएको आरोप अस्वीकार गरे पनि प्रारम्भिक सूचनामा भनिएको परिमाण र आधिकारिक तथ्यांकबीचको अन्तरबारे थप स्पष्टता आवश्यक देखिन्छ।


निष्पक्ष अनुसन्धानको आवश्यकता

नेपालका पहाडी जिल्लाबाट संकलन गरिने गाँजा उदयपुर, सप्तरी र सिरहाका विभिन्न ट्रान्जिट हुँदै भारततर्फ तस्करी हुने गरेको स्रोतको दाबी छ। यस्ता कारोबारमा ठूलो नेटवर्क संलग्न हुने भएकाले एउटा ट्रक नियन्त्रणमा लिनु मात्रै पर्याप्त उपलब्धि मान्न सकिँदैन।


विशेषगरी १२ चक्के ट्रकमा ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको पूर्वसूचना सुरक्षा निकायका उच्च अधिकारीसम्म पुगेको अवस्थामा चालक र स्कर्टिङ गर्ने व्यक्ति पक्राउ नपर्नु गम्भीर विषय हो।


त्यसमाथि ट्रक नियन्त्रणमा लिइएको समय, कार्यालयसम्म पुर्‍याउन लागेको अवधि, बाटोको अवस्थाबारे फरक–फरक भनाइ र गाँजाको परिमाणमा देखिएको अन्तरले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने आवश्यकता बढाएको छ।


ट्रकको वास्तविक भार, बरामद गाँजाको तौल, घटनास्थलको मुचुल्का, नियन्त्रणमा लिने क्रममा खटिएका सुरक्षाकर्मीको विवरण, ट्रक रोकिएको स्थान र समय तथा फरार भएका व्यक्तिहरूको पहिचानबारे स्वतन्त्र रूपमा अनुसन्धान हुन सके मात्रै वास्तविकता बाहिर आउन सक्छ।


करिब ७.८ टन गाँजा बरामद भएको सशस्त्र प्रहरीको दाबी र करिब १३ टन गाँजा लोड रहेको स्रोतको सूचनाबीचको अन्तर सामान्य हिसाबको विषय मात्र होइन। यसले राज्यको सुरक्षा संयन्त्रमाथिको जनविश्वाससँग समेत प्रत्यक्ष सरोकार राख्छ।