सुनसरी । सशस्त्र प्रहरीले उदयपुरको बेलका क्षेत्रबाट अहिलेसम्मकै ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रकमा लोड गरी रामपुर हुँदै सिरहा लैजाने तयारीमा रहेको गाँजा आइतबार साँझ बरामद गरिएको हो।

बरामद ट्रकमा अन्दाजी ९ देखि १० हजार किलो गाँजा रहेको अनुमान गरिएको छ। ट्रकका चालक फरार भएपछि प्रहरीले आफैँ ट्रक चलाएर सशस्त्र प्रहरीको रामपुर बेस क्याम्प पुर्‍याएको छ ।  गाँजाको यकिन परिमाण सोमबार बिहान तौल गरेपछि सार्वजनिक गरिने कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले प्रदेश पोर्टललाई जानकारी दिएका छन्।

प्रहरी स्रोतका अनुसार बेलका क्षेत्रबाट बरामद भएको यो अहिलेसम्मकै ठूलो परिमाणको गाँजा हो। स्कर्टिङसहित ओसारपसार भइरहेको गाँजा चेकजाँच देखेर भाग्ने क्रममा फेला परेको जनाइएको छ। पछिल्लो समय सुनसरीको चतराहुँदै उदयपुरबाट मधेस प्रदेशका विभिन्न जिल्ला हुँदै गाँजा भारततर्फ तस्करी हुने गरेको बताइएको छ। ठूलो परिमाणमा गाँजा बरामद भएपछि जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय रामपुर र सशस्त्र प्रहरीका सम्बन्धित अधिकारीहरूको भूमिकामाथि समेत प्रश्न उठेको छ। त्यस्तै आइतबार साँझ गाँजा बरामद गरेपछि सशस्त्र प्रहरीले आफ्नै नियन्त्रणमा राखेको थियो। जबकि बरामद गाँजाको थप अनुसन्धान तथा यकिन परिमाण निर्धारणका लागि तत्कालै नेपाल प्रहरी (जनपद प्रहरी) लाई बुझाउनुपर्ने हुन्छ। यो समाचार तयार पार्दासम्म सशस्त्र प्रहरीले बरामद ट्रक र गाँजा नेपाल प्रहरीलाई बुझाएको छैन।

स्रोतका अनुसार करिब ५ करोड रुपैयाँ मूल्यको गाँजा बिना मिलेमतो ट्रकमार्फत ओसारपसार हुन नसक्ने दाबी गरिएको छ। यता, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी खनालले घटनाबारे गहन अनुसन्धान गरिने र प्रहरीको संलग्नता भेटिए कारबाही गरिने बताएका छन्।