काठमाडौंः भारतीय विदेशसचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका क्रममा बुधबार बिहान काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको मंसिर पहिलो साता हुने भारत भ्रमणको तयारीका क्रममा काठमाडौं आएका मिश्रीको यो तेस्रो औपचारिक भ्रमण हो ।
मिश्री आउनु अघिल्लो दिन मंगलबार नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् ।
परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा काठमाडौं आएका मिश्रीले समकक्षीसँग बुधबारै द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् । त्यसक्रममा प्रधानमन्त्री शाहको आगामी मंसिर ६ देखि ८ सम्मको भारत भ्रमणको तयारी तथा एजेन्डाहरूबारे छलफल गर्ने कार्यक्रम छ ।
कूटनीतिक स्रोतका अनुसार भारतीय विदेशसचिव मिश्रीले काठमाडौंमा प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसँग पनि शिष्टाचार भेट गर्नेछन् । उनले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, भौतिक पूर्वाधारमन्त्री सुनील लम्साललगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनको विपक्षी दलका नेताहरूसँग भने भेटवार्ताको कार्यक्रम छैन ।
नेपाल र भारतका परराष्ट्र मन्त्रालयले सोमबार विदेशसचिव मिश्रीको भ्रमणतालिका एकैसाथ सार्वजनिक गरेका थिए । यो भ्रमण प्रधानमन्त्रीको भारत भ्रमणकै मुख्य एजेन्डामा हुन लागेको छ । भारतीय विदेश मन्त्रालयले सोमबारै जारी गरेको विज्ञप्तिमा दुई देशबिच हुने नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई विदेशसचिवको भ्रमणले निरन्तरता दिने उल्लेख गरेको छ ।
मिश्री विदेशसचिव भएलगत्तै साउन २७ र २८, ०८१ मा पहिलो औपचारिक भ्रमणका क्रममा नेपाल आएका थिए । उनी ०८२ भदौ १ र २ मा दोस्रोपटक नेपाल भ्रमणमा आएका थिए भने तेस्रो भ्रमणका क्रममा बुधबार काठमाडौं आएका छन् ।




















