बेलायतः नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यो वर्षको प्रतिभा पुरस्कार जनकपुरधाम धनुषाकी लेखक, अनुवादक तथा पत्रकार विजेता चौधरीलाई दिने घोषणा गरेको छ । यसैगरी विशिष्ट प्रतिभा सम्मान खोटाङका अग्रज कवि जसराज किरातीलाई दिने भएको छ ।

प्रतिष्ठानले बेलायतमा सनिबार विज्ञाप्ति प्रकाशीत गरि नगद राशी १ लाख रुपैया र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार चौधरीलाई र नगद राशी १ लाख रुपैया, ताम्रपत्र र दोसल्लासहितको विशिष्ट प्रतिभा सम्मान किरातीलाई प्रदान गर्ने घोषणा गरेको विज्ञाप्तिमा जनाएको छ ।

प्रतिष्ठानका अनुसार सन् १९८१ सालमा धनुषाको जनकपुरधाममा जन्मेकी चौधरीले मैथिली भाषा साहित्य तथा नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रहेकी छन् । ४४ बर्षीया चौधरीले आर आर बहुमुखी क्याम्पस जनकपुरबाट नेपालीमा स्नातकोत्तर र पत्रकारिता विषयमा स्नातक अध्यायन पुरा गरेकी छन् । उनको ‘धाराक विरूद्ध’ कवितासङ्ग्रह सन् २०१९ (मैथिली) र ‘कफ्र्यु’ कथासङ्ग्रह सन् २०२० (मैथिली) तथा ‘चुप्पी चिकरैछ निःशब्ध निशब्ध’, २०२१, एक पंक्ति कविता संग्रह (लेखिका द्वारा प्रथम प्रयोग) कृतिहरु प्रकाशित छन् । चर्चित साहित्यकार मनु ब्राजाकीकृत ‘तिम्री स्वास्नी र म’को मैथिली अनुवाद ‘तोहर कनियाँ आ हम’ सन् २०२२ र ‘ऋतम्भरा’ नीरजा रेणु कृत मैथिली कथा संग्रहको नेपाली अनुवाद, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशोन्मुख रहेको छ । यस्तै विश्वेश्वर प्र्रसाद कोइरालाका कथा साहित्यकी नारी पात्रको मनोविश्लेषणात्मक अध्ययन, विश्वेश्वर प्र्रसाद कोइरालाका आख्यानमा मधेस, मैथिली साहित्यको इतिहास र मैथिली चित्रकलाको इतिहास र वर्तमान अवस्था विषयहरूमा शोधकार्य सम्पन्न गरेकी छन् । यसैगरि नेपाल प्रज्ञा प्रतिष्ठानद्घारा प्रकाशित आँगन पत्रिकाको पनि सम्पादन गरेकी छन् ।

Bijeta Chaudhari

प्रतिष्ठानका अध्यक्ष टंक वनेमले भने, ‘पत्रकार,  तथा लेखिका चौधरीको मैथिली साहित्य लेखन, अनुवाद र बिभिन्न विषयहरूको शोधकार्य साथै पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदानको कदर गर्दै यस वर्षको प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।’ प्रतिष्ठानले प्रतिभा पुरस्कार मधेश प्रदेशलाई प्रदान गर्ने घोषणा गरेको यो पहिलो हो ।

यसैगरी विस २००२ साउन १७ गते मैचुङगाउँ, बुइपा–६, खोटाङमा जन्मेका जसराज किराती वाल्यकालदेखि कविता लेखनमा सकृय रहदै आएका छन् । उनको पहिलो कृति उज्यालो खोज्ने आँखाहरू कवितासङ्ग्रह २०३६, जसराज किरातीका कविता कवितासङ्ग्रह २०५७ र जसराज किरातीका प्रतिनिधी कविताहरू कवितासङ्ग्रह २०६४ प्रकाशित छन् । नेपालमा छापाखानाको विकास राम्ररी नहुदै हस्तलिखित साहित्यिक पत्रिका गोरेटो २०२० सालमा सम्पादन गरेका थिए । यसैगरि अर्धचन्द्र दैमासीक २०२०, आव्रmोस २०२६ र हलेसी पुञ्ज २०४१ सालमा  प्रकाशित पत्रिकाहरू किरातीको सम्पादन रहेका छन् । समकालिन कविहरू मञ्जुल, रामेश, रायन, शैलेन्द्र शाकार र परशु प्रधानसंगै छ दशकसम्म लगातार नेपाली कविता लेखनमा अतुलनीय योगदानको कदर गर्दै किरातीलाई विशिष्ट सम्मान प्रदान गर्न लागिएको हो । सामान्यतया हरेक बर्ष नियमित प्रतिभा सम्मान गर्दै आएकोमा संस्थाले बिशेष परिस्थितिहरुमा मात्र विशिष्ट सम्मानको ब्यावस्ता गरेको छ । यस अघि संस्थाले सर्बोच्च कवि श्री बैरागी काइँलालाई मात्र विशिष्ठ सम्मानले सम्मानित गरेको छ । चौधरी र किरातीलाई आगामी मंसीरमा काठमाण्डौमा कार्यक्रम गरि पुरस्कार तथा सम्मान प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

बेलायतमा बसेर कर्मथलो बनाएका नेपाली स्रष्टाहरुले सन २००८ मा बेलायतमा स्थापित गरेको नेपाली प्रतिभा प्रतिष्ठानले हालसम्ममा नवीन विभास, कुबेर राई, उपेन्द्र सुव्वा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, वीवी अनुरागी, टीका चाम्लिङ, फुलमान बल, बलराम अधिकारी, शुभ मुकारुङ, विमला तुम्खेवा, गणेश गुरुङ, सुदिप पाख्रिन, प्रदीप मेन्याङ्बो र सन्ध्या सुब्वा सिङ्जाङगो लाई प्रतिभा पुरस्कार प्रदान गरिसकेको छ ।

यसैगरी अग्रज स्रष्टाहरु इश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्राडा गोविन्दराज भट्टराई, बुँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ, भागीरथी श्रेष्ठ, बेणु आचार्य, दावा ग्याल्मो, गोपाल पराजुली, राजेन्द्र बिमल, डा कृष्णहरी बराल, दीप श्रेष्ठ, गणेश रसिक र राजेश्वर थापालाई प्रतिभा सम्मान गरिसकेको छ ।