धरानः धरान–१ स्थित युरेका आवासीय माविमा चालु शैक्षिक सत्रको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्षभर भएका अतिरिक्त क्रियाकलाप र शैक्षिक गतिविधिमा उत्कृष्ट भएकाहरूलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा भूपू विद्यार्थी सुमन पोख्रेललाई पनि सम्मान गरिएको थियो । डाक्टर बनिसकेका उनी अध्यापक हुन् । कार्यक्रमका प्रमुख अतिथि ब्लाष्ट टाइम्सका सम्पादक किशोरकुमार कार्की, प्रिन्सिपल राजेन्द्र गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् डाइरेक्टर सुदीप यल्मो, विद्यालय व्यवस्थापन समितिका विकास आचार्य, सहायक प्रिन्सिपल कुरन चेम्जोङले दोसल्ला, खादा र सम्मानपत्रले पोख्रेललाई सम्मान गरेका थिए ।
अभिभावकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बोल्दै प्रिन्सिपल गुरुङले विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले जोड दिएको बताउँदै अभिभावकले पनि ध्यान दिनुपर्ने बताए । ‘पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले सक्दो ध्यान दिँदै आएको छ, त्यस्तै अभिभावकले पनि पूर्ण सपोर्ट गरिदिन आग्रह गर्दछु,’ कार्यक्रममा बोल्दै उनले भने ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले युरेका नाम चलेको विद्यालय भएको बताउँदै गुणस्तरीय शिक्षा दिएर नै देश विदेशसम्म नाम कमाउन सफल भएको बताए । ‘युरेकाले ब्रिटिस काउन्सिलद्वारा अवार्ड पाउनु नै ठूलो कुरा हो’, उनले भने । कार्यक्रममा अतिरिक्त क्रियाकलापका विभिन्न विधाका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यार्थी शैलेश अग्रवाल, मानसी खतिवडा, रिन्छेन तामाङ, नमिना मगर, समीक्षा, मुनाल, दृष्टि, असन, अर्मन, विज्ञान, अनामिकालगायतले गरेका थिए ।