विराटनगरः   मोरङको रतुवामाईमा लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) ओसारपसार तथा बिक्रीवितरणमा संलग्न रहेको आशंकामा प्रहरीले गोली चलाएको छ। गए राति प्रहरीले चलाएको गोली लागेर दुई जना भारतीय नागरिक घाइते भएका छन्। प्रहरीले घाइते दुई जनासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट करिब ५०० ग्राम ब्राउन सुगर, एक थान पेस्तोल, गोली तथा दुई वटा मोटरसाइकल बरामद गरिएको छ। पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन्।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार लागुऔषध ओसारपसार तथा बिक्रीवितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन अभियान सञ्चालन गरेको थियो।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौंका इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा खटिएको टोली र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त प्रहरी टोली चेकजाँचका लागि राति करिब ९ः३० बजे रतुवामाई नगरपालिका–६ स्थित शनिश्चरे पुगेको थियो।

प्रहरीले भारतीय नम्बर प्लेटको बीआर ३७ भी ३९२६ नम्बरको मोटरसाइकल र तत्काल नम्बर खुल्न नसकेको अर्को मोटरसाइकलमा सवार तीन जनालाई रोकेर जाँच गर्न खोजेको थियो। तर प्रहरीलाई देखेपछि उनीहरू भाग्न खोजेको डीएसपी मिश्रले जानकारी दिए।

प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीमाथि नै गोली प्रहार गर्ने प्रयास गरेका थिए। त्यसपछि आत्मरक्षाका लागि प्रहरीले जवाफी कारबाही गरेको मिश्रले बताए।

उनका अनुसार प्रहरीले चाइनिज पेस्तोलबाट पाँच राउन्ड र ब्रेडा पेस्तोलबाट तीन राउन्ड गरी आठ राउन्ड गोली चलाएको थियो। प्रहरीको गोली लागेर दुई जना भारतीय नागरिक घाइते भएका छन्।

गोली लागेर घाइते हुनेमा भारतको अररिया जिल्लास्थित कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक रहेका छन्। दुवै जनाको घुँडामुनि गोली लागेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ।

WhatsApp Image 2026-10-30 at 08.24.37

घाइते दुवै जनालाई तत्काल उपचारका लागि नगर अस्पताल झुर्किया लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

भारतीय नागरिकसहित तीन जना पक्राउ

प्रहरीले गोली लागेर घाइते भएका दुई भारतीय नागरिकसहित एक नेपाली नागरिकलाई समेत पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दीपककुमार बोसाक, पुरन बोसाक र मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट होममेड पेस्तोल एक थान, त्यसमा प्रयोग हुने गोली एक थान, करिब ५०० ग्राम खैरो हेरोइन (ब्राउन सुगर) र दुई वटा मोटरसाइकल बरामद गरिएको छ।

प्रहरीले पक्राउ परेका तीनै जनालाई लागुऔषध ओसारपसार तथा बिक्रीवितरणमा संलग्न गिरोहका सदस्यका रूपमा लिएको छ। उनीहरू लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ।

लागुऔषधको स्रोत र सञ्जालबारे अनुसन्धान

घटनापछि प्रहरीले बरामद गरिएको लागुऔषध तथा हतियारको स्रोत पहिचान गर्ने काम अघि बढाएको छ। पक्राउ परेकाहरूले कहाँबाट ब्राउन सुगर ल्याउने गरेका थिए, यसको कारोबारमा अरू को–को संलग्न छन् र लागुऔषध कुन क्षेत्रमा वितरण हुँदै आएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले गरिरहेको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय सिजुवाबाट करिब ६ किलोमिटर पश्चिम–दक्षिणमा पर्छ।

नेपाल–भारत खुला सीमा क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले सीमापारबाट हुने लागुऔषध ओसारपसार तथा अवैध कारोबार नियन्त्रणका लागि निगरानी र अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

यस घटनामा बरामद भएको करिब आधा किलो ब्राउन सुगर, पेस्तोल र गोलीले लागुऔषध कारोबारसँगै हतियारको प्रयोग तथा सम्भावित आपराधिक सञ्जालको पक्षसमेत अनुसन्धानको दायरामा ल्याएको छ। पक्राउ परेका व्यक्तिहरूको बयान, बरामद सामग्रीको परीक्षण र थप अनुसन्धानपछि कारोबारको वास्तविक सञ्जाल तथा संलग्न अन्य व्यक्तिबारे खुल्ने प्रहरीको अपेक्षा छ।