झापाः आइतबार काँकरभिट्टामा स्वास्थ्य चेतनासम्बन्धी अभिमुखीकरण गोष्ठीमा प्रतिवेदन प्रस्तुत गर्दै नसर्ने रोेगका कारण विश्वमा प्रत्येक वर्ष ३ करोड ८० लाख मानिसको मृत्यु हुने औँल्याइएको छ ।

कार्यक्रमका सहजकर्ता स्वास्थ्य कार्यक्रम विशेषज्ञ ब्रजेश मेहताले विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कको आधारमा तयार पारेको प्रतिवेदनमा यस्तो तथ्याङ्क देखाइएको हो ।

३ करोड ८० लाख मानिसमध्ये २ करोड ८० लाख मानिस अल्पविकसित र अति विकसित देशका रहेको बताइएको छ । नसर्ने रोगबाट मृत्यु हुने १ करोड ६० लाख जना मानिस ७० वर्ष भन्दा मुनिका हुने र ८२ प्रतिशत अल्पविकसित र अति कम विकसित मुलुकका हुने पनि बताइएको छ । नसर्ने रोगमध्ये १७ दशमलव ५ प्रतिशत मुटु रोगबाट ग्रसित रहेको बताइएको छ । क्यान्सरबाट ८२ लाख, श्वासप्रश्वाससँग सम्बन्धित रोगबाट २० लाख, मधुमेहबाट १५ लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको छ ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले काँकरभिट्टाको स्वास्थ्य केन्द्रमा आयोजना गरेको गोष्ठीमा मेहताले अस्वस्थ जीवनशैलीका कारण नसर्ने व्यक्ति, परिवार, समाज र देश विकासमा नकारात्मक प्रभाव पारेको बताए । नसर्ने रोगका अवस्था सुधार गर्ने उपायहरू कम खर्चिलो पनि भएको उनले सहभागीलाई बताए ।

कार्यक्रममा स्वास्थ्य शाखा संयोजक शशीकला राईले नयाँ वर्षको शुरुवातसंगै स्वस्थ्य मार्गमा हिँड्न ८ वटा प्रतिबद्धता सहित सहभागी सवैलाई स्वस्थ जीवनशैली अपनाउने सङ्कल्प गराएकी थिइन् । ‘स्वस्थ रहन पाउनु तपाईको अधिकार हो । हरेक नागरिकलाई स्वस्थ राख्नु सरकारको दायित्व हो । सरकार आफ्नो दायित्व पूरा गर्न दृढ छ । सरकारको यो दृढतामा तपाईको पनि साथ चाहिएको छ । अधिकारसँगै आफ्नो जिम्मेवारी पनि पूरा गरौं’, सङ्कल्प पत्रमा उल्लेख छ ।

म तनावरहित जिबनशैलीलाई आत्मसात गर्छु, म रक्सी, चुरोट, र सुर्तिजन्य पदार्थबाट टाढै रहन्छु, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु, म प्रदूषण नियन्त्रणमा सजग रहँदै आफ्नो घर र समुदाय सफा राख्छु , म ट्राफिक नियम पालन गर्छु र म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजक रहन्छु भन्ने प्रतिवद्धता सहभागीले व्यक्त गरेका थिए ।

नगर स्वास्थ्य शाखाले नगरका बाहुनडाँगी, काँकरभिट्टा, धुलावारी, ज्यामिरगढी, धाइजन र दुहागढीमा यो कार्यक्रम समापन गरेको संयोजक राईले बताइन् ।