बिर्तामोडः यहाँस्थित मनकामना कलेजको सामाजिक कार्य विभाग तथा सामाजिक कार्यका लागि युवाले आज विश्व स्वास्थ्य दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रमको उद्घाटन सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईले रक्तदान गरी गरेका हुन् । सिद्धार्थ ब्लड बैङ्क, दमक शाखाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३२ जना महिला तथा ३३ जना पुरुष गरी ६५ जनाले रगत दान गरेका छन् ।

रक्तसञ्चार केन्द्रहरूमा रगतको बढ्दो अभावलाई सम्बोधन गर्न तथा बारा र पर्सामा भएको आँधीहुरीका घाइतेको उपचारमा रगत अभाव नहोस् भन्ने ध्येयले रक्तदान कार्यक्रम आयोजना गरेको सामाजिक कार्यका लागि युवाका अध्यक्ष सरोज खरेलले जानकारी दिए ।

‘विद्यार्थीहरूले यस्ता कार्यक्रमको आयोजना गर्नु आफैँमा गौरवको विषय हो, यस्तो कार्यक्रम हरेक वर्ष कम्तीमा तीनपटकसम्म आयोजना गर्नुपर्छ’ सिद्धार्थ ब्लड बैङ्क दमक शाखाका प्रमुख सिद्धार्थ दाहालले भनेका छन् ।

मनकामना कलेजमा यस्तो कार्यक्रमको आयोजना सामाजिक कार्य विषय सुरु भएबाट मात्र भएको बताउँदै क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले आयोजक तथा प्रायोजकहरूलाई धन्यवाद दिए । आगामी दिनमा पनि यस्तो कार्यक्रम विद्यार्थीले आयोजना गरेमा कलेज प्रशासनले सहयोग गर्ने क्याम्पस प्रमुख भट्टराईले आश्वासन पनि दिएका छन् ।

मनकामना कलेज बिर्तामोडमा २०७४ सेसनबाट बिएसडब्ल्यूको पठनपाठन सुरु भएको हो । सो विभागले गत साल मोरङको लेटाङमा ४ दिने क्याम्पिङ कार्यक्रम सञ्चालन गर्दै वृक्षारोपण, निःशुल्क स्वास्थ्य शिविर, सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको थियो ।

यस वर्ष पनि एक महिना पहिले धनकुटाको ६ नं. बुधबारेमा विभिन्न कार्यक्रम सहितको ६ दिने क्याम्पिङ पूरा गरिसकेको विभागीय प्रमुख सौरभ प्रसाईंको भनाई छ ।

धनकुटामा पनि वृक्षारोपण, सरसफाइ तथा फोहोर सङ्कलन गर्ने भाँडा वितरण, दृष्टि आई हस्पिटलको प्राविधिक सहयोगमा निःशुल्क आँखा परीक्षण तथा औषधी वितरण अभियान सञ्चालन गरेको विभागीय प्रमुख प्रसाईंले जानकारी दिए ।