झापाः देशका विभिन्न भागमा बर्डफ्लू धमाधम देखा पर्न थालेपछि पूर्वी नाकामा भने उच्च सतर्कता अपनाइएको छ । यसै विषयमा पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले शुक्रबार ऐन नियम मापदण्डबारे सरोकारवालासँग अन्तरक्रिया तथा गोष्ठी सम्पन्न गरेको छ ।
कार्यक्रममा कार्यालय प्रमुख पशु चिकित्सक मुकेशकुमार सिंहले क्वारेन्टाइन सम्बन्धी नेपाल सरकारको मौजुदा ऐन नियम नीति कार्यनीति तथा मापदण्डका बारेमा जानकारी गराएका थिए । उनले भारतबाट पंक्षी तथा पंक्षीजन्य पदार्थको आयातमा सरकारले पूर्ण रूपमा प्रतिबन्ध लगाएको भए पनि खुला सिमानाका कारण अवैध रूपमा आयात हुने सम्भावनालाई सतर्कताका साथ निगरानी गरिरहेको बताए ।
मेचीनगर वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङको प्रमुख आतिथ्यता र नगर सदस्य लक्ष्मी तामाङको विशेष आतिथ्यतामा भएको अन्तरक्रियामा सुरक्षा निकायका उच्च अधिकृत, भन्सार अधिकृत, मासु तथा कुखुरा व्यवसायी, उद्योगी व्यपारी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।