धरानः धरान–९ स्थित विष्णु मेमोरियल माविले पूर्ण आधुनिक मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याएको छ ।
विद्यालयले पत्रकार सम्मेलन गर्दै औपचारिक रूपमा यसको जानकारी दिएको हो । विद्यालयका प्रिन्सिपल बेनिन्द्र कटवालले यस वर्षदेखि २ वर्ष वा सोभन्दा माथिका बालबालिकाहरूका लागि पूर्व प्राथमिक कक्षा प्ले गु्रप सञ्चालनमा ल्याइएको जानकारी दिए ।
‘आवश्यक पूर्वाधार तयार पार्दै साना बालबालिकाहरूको मनोविज्ञानका आधारमा मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याएका हौं’, आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रिन्सिपल कटवालले भने, ‘विभिन्न क्रियाकलापसहित बालबालिकाका सज्ञान, मनोविज्ञान तथा प्रयोगात्मक क्षेत्रलाई समेट्दै सञ्चालन गरिएको यो कक्षा पूर्ण आधुनिक रहनेछ ।’
कार्यक्रममा बोल्दै प्रिन्सिपल कट्वालले विष्णुले गुणस्तरीय शिक्षामा जोड दिँदै अघि बढेको बताउँदै यसका साथै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिँदै गएको बताए । खेलकुद (फुटबल, बास्केटबल तथा क्रिकेट) का दक्ष प्रशिक्षकको व्यवस्थाका साथै अतिरिक्त क्रियाकलापलाई साप्ताहिक रूपमा गराउने योजना बनिसकेको बताउँदै उनले विद्यालयले दीर्घकालीन सोचका साथ लगानी पनि गर्दै जाने बताए ।
विद्यालयभित्रै क्रिकेट, बलिङ एण्ड ब्याटिङको प्रशिक्षण, कलेजस्तरीय बास्केटबल कोर्टको व्यवस्था गरिएको जानकारी दिँदै प्रिन्सिपल कटवालले आगामी दिनमा फुटसल तथा टिटी हलको पनि व्यवस्था गरिने बताए । ध्यान केन्द्रसँग सम्बन्धित योग कक्षा, परामर्श सेवा, स्टाफ नर्ससहितको स्वास्थ्य केन्द्र पनि सञ्चालन भइसकेको उनको भनाइ छ ।
विद्यालयमा हाल स्मार्ट कक्षा, विश्वव्यापी शिक्षा पद्दति अन्तरक्रियात्मक शिक्षा, क्रियाकलापमा आधारित शिक्षा, मितेरी कक्षाको पनि विद्यालयमा व्यवस्था रहेको र मन्टेश्वरीका लागि छुट्टै भवनको व्यवस्था गरिएको बताइएको छ ।
कार्यक्रममा बोल्दै सहायक प्रिन्सिपल सन्तोष पौडेलले मन्टेश्वरीले सामाजिकीकरण, सांस्कृतिकरण, व्यक्तित्व विकास, बौद्धिक विकास, शारीरिक विकास आदि कुरामा जोड दिइने बताए । मण्टेश्वरीका लागि काठमाडौंबाट अनुभवी शिक्षक ल्याइएको पनि उनले बताए ।