बेलबारीः बेलबारी नगरपालिका वडा नम्बर ९ को आयोजनामा गरिएको स्वास्थ्य शिविरमा ४ सय ९० जनाले सेवा लिएका छन् ।

बुधबार डाँगीहाट स्वास्थ्य चौकीको भवनमा भएको शिविरमा ४ सय ९० जनाले सेवा लिएका छन् । जसमध्ये हाडजोर्नीका बिरामी बढी भेटिएका छन् । ४० वर्षभन्दा बढी उमेर समूहका मानिसमा हाडजोर्नीको समस्या भेटिएको शिविरमा खटिएका स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्यकर्मीका अनुसार छाला, हाडजोर्नी, स्त्री रोग, बालरोग, नशा, नाक, कान, घाँटी, लगायतका बिरामीको उपचार गरिएको थियो ।

निःशुल्क औषधिसहित भिडियो एक्सरे, ल्याब सेवासमेत सञ्चालन गरिएको वडा अध्यक्ष नगेन्द्र खड्काले बताए । बीएण्डसी अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको थियो । शिविरको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले नगरपालिकाले प्रत्येक वडामा विभिन्न प्रकारका स्वास्थ्य शिविर सञ्चालन गरिरहेको बताए ।