इटहरीः मोरङको रतुवामाई–८ मा रहेको दाम्राभिट्टा सेकेण्डरी इङ्लिस स्कुल नयाँ स्वरूपमा सञ्चालन हुने भएको छ ।
करिब १ दशक लामो इतिहास बोकेको उक्त स्कुल अस्ट्रेलिया तथा विराटनगरका अनुभवी तथा युवा प्राध्यापकसहितको सहभागितामा आगामी नयाँ शैक्षिकसत्रबाट सञ्चालनमा आउन लागेको हो ।
स्कुल व्यस्थापनमा अस्ट्रेलिया तथा विराटनगरका शैक्षिक क्षेत्रमा अनुभव प्राप्त समूहको आगमनसँगै स्कुलका शैक्षिक, भौतिक तथा अन्य पक्ष सबल बनाउँदै लगिने स्कुलका एकेडेमिक निर्देशक पङ्कज खड्काले जानकारी दिए ।
विराटनगर वा काठमाडौंकै शैक्षिक गुणस्तरको शिक्षा उक्त स्कुलमा लागू गरिने पनि खड्काले बताए । विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षण विधिबाट अध्यापन गराइनुका साथै व्यावहारिक तथा जीवनोपयोगी शिक्षा दिने उद्देश्यसहित हाल स्कुलको भौतिक संरचना निर्माण गरी आगामी शैक्षिक सत्रको लागि भर्ना शुरु गरेको उनले बताए ।