धनकुटाः धनकुटा बहुमुखी क्याम्पससँगै रहेका सामुदायिक चिकित्सा अध्ययन विषय अध्यापन गराउन क्यानडा सरकारले निर्माण गरिदिएका भवन हेर्दा सुन्दर देखिन्छन् ।
दाताको सहयोगमा एक समय धनकुटास्थित सामुदायिक चिकित्सा अध्ययन क्याम्पसले दक्ष जनशक्ति उत्पादन गर्दथ्यो । तर दाताले हात झिकेसँगै पठनपाठन मात्र बन्द भएन क्याम्पसको पूर्वाधार पनि अलपत्र परेको छ ।
२०३८ सालमा क्यानडा सरकारको करिब ८ करोड अनुदान सहयोगमा निर्मित यो सामुदायिक चिकित्सा अध्ययन क्याम्पस निर्माण भएको थियो । जहाँ पूर्वका १६ वटै जिल्लाबाट प्रतिस्पर्धा गराई कोटा प्रणालीमा विद्यार्थी भर्ना लिइन्थ्यो । गाउँमा सेवारत स्वास्थ्य कार्यकर्ताका लागि १० प्रतिशत सिट आरक्षण थियो ।
नमूना ग्रामीण स्वास्थ्य कार्यकर्ता उत्पादन गर्ने यो क्याम्पस ८ वर्षभन्दा बढी चल्न सकेन । २०४६ साल पछि सीटीईभीटीको स्थापना भएसँगै त्रिभुवन विश्वविद्यालयले सिएमएतर्फको पढाइ बन्द गरेको थियो । पढाइ बन्द भएसँगै ती संरचनाको सदुपयोग हुन सकेन । जसका कारण यी भवनसमेत खण्डहर बनेका छन् ।

४५ रोपनीमा फैलिएको क्याम्पसका दर्जनौं भूकम्पप्रतिरोधी सुविधा सम्पन्न भवन तथा फर्निचर नासिँदै गएका छन । केही भवनलाई धनकुटा बहुमुखी क्याम्पसका विद्यार्थी, प्राध्यापक र कर्मचारीले आवास बनाएका छन भने बाँकी पूर्वाधार त्यत्तिकै खेर गएका छन् । स्थानीय समुदायले पूर्वाधार उपयोग गर्न चासो नदिएका कारण भवन उपयोगहीन बनेको धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक किरण घिमिरे बताउँछन् ।
हरेक वर्ष दुर्गमका १ सय २० जनाले सामुदायिक चिकित्सा सहायकको दक्षता प्राप्त गर्थे । अहिले भने विद्यार्थी निजी क्षेत्रबाट सञ्चालित क्याम्पसमा महङ्गो शुल्क तिरेर पढ्न बाध्य रहेको स्थानीय बताउँछन् ।