झापाः झापाको मेचीनगर नगरपालिकाले नगरभित्रका पुस्तकालयहरूको सञ्चालन दायित्व बेहोर्ने भएको छ ।

मेचीनगर–१० स्थित त्रिफला राष्ट्रिय पुस्तकालय आर्थिक सङ्कटमा फसेपछि शनिबार पुस्तकालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नगरको सम्पत्तिको रूपमा पुस्तकालयहरूलाई संरक्षण र सञ्चालन गरिने बताए । नगरका प्रमुख, उपप्रमुख र १५ वटै वडाका अध्यक्षको उपस्थितिमा पुस्तकालयको सञ्चालन कसरी गर्ने भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो ।

५ करोड रुपैयाँको अचल सम्पत्ति भएको त्रिफला पुस्तकालयमा करीब ४० हजार पुस्तकहरू राखिएका छन् । तर आर्थिक कठिनाइ र प्राविधिक दक्षताको अभावमा पुस्तकालयलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकिएको पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी बताउँछन् ।

भिक्षा सङ्कलन गरेर स्थापना गरी अहिलेको अवस्थामा ल्याएको पुस्तकालयको अभिभावकत्व अब स्थानीय सरकारले लिनुपर्ने र पुस्तकालयमा तत्काल लाइब्रेरी विज्ञान अध्ययन गरेको कर्मचारी र पुस्तकको वैज्ञानिक वर्गीकरण आवश्यक भएको उनले बताए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्राडा गोविन्दराज भट्टराईले ई–लाइब्रेरी विकल्प भए पनि प्रविधिको विकाससँगै आएको ई–लाइब्रेरीले पुस्तकालयको महत्व र आवश्यकता कम नहुने धारणा व्यक्त गरे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले खाली खुट्टा हिँडेर र अन्न समेत नखाई त्रिफला पुस्तकालयमा ५ करोड रुपैयाँको सम्पत्ति जोडिदिएर अध्यक्ष फलाहारीले अभूतपूर्व योगदान पुर्याएको बताए । अब यसको विकास गर्ने र निरन्तरता दिने दायित्व स्थानीय सरकारको भएको हुँदा नगरका जनप्रतिनिधिले कर्तब्यबोध गर्नुपर्ने उनको भनाइ थियो ।

अन्तरक्रिया कार्यक्रमबाट नगरपालिकाले त्रिफला पुस्तकालयका लागि विद्यालयलाई सरह बजेट छुट्याउने र पुस्तकालयलाई नयाँ ढङ्गबाट सञ्चालन गर्न विधानमा परिमार्जन गर्ने सहमति भएको बताइएको छ ।