विराटनगरः स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले मुलुकको स्थानीय निकायका १ हजार २ सय वडामा गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालनका लागि रु ५ लाखका दरले निकासा गरिएको बताएका छन् ।

मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशनको हिजो विराटनगरमा उद्घाटन गर्दै उनले थप १ हजार ३ सय वडामा सेवा सञ्चालन गर्ने र स्वास्थ्यकर्मीलाई रोजगारी उपलब्ध गराउन आगामी दिनमा १० हजार जना जनशक्तिको लागि लोक सेवामार्फत् विज्ञापन आह्वान गरिने जनाए ।

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय जयराम यादव र राधा थापाले स्वास्थ्यकर्मीको समस्या समाधानमा वर्तमान सरकारले कार्य गर्नुपर्नेमा जोड दिए । हरिशङ्कर साहको सभापतित्वमा भएको उक्त कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपालका प्रदेश संयोजक भुपेन्द्र नेम्वाङ, मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव, स्वास्थ्यकर्मीका केन्द्रीय अध्यक्ष बालकिशोर यादव लगायतले स्वास्थ्यकर्मीमाथिको विभेद अन्त्य गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।

सोही अवसरमा सञ्चारकर्मी मकालु टीभीका नवीन कर्ण, न्यू सृष्टि दैनिकका ब्रह्मदेव यादव, उद्घोष दैनिकका जितेन्द्र ठाकुर र सङ्घीय फोरम पत्रकार सङ्घका मोरङ अध्यक्ष मुकेश यादवलाई सम्मान गरिएको थियो । सो अधिवेशनमा प्रदेशका १४ जिल्लाका ५ सय प्रतिनिधिको सहभागिता छ ।