भोजपुरः नेपाल पत्रकार महासङ्घ भोजपुर शाखाले महासङ्घको ६४ औं स्थापना दिवसको दिन पारेर बहिरा आवासीय विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यालयमा आज बिहान आयोजित एक समारोहका बीच अध्ययनरत बहिरा विद्यार्थीको लागि कापी, कलम, पेन्सिल लगायत विद्यालय प्रशासनको लागि आवश्यक पर्ने स्टेशनरी सामान हस्तान्तरण गरिएको हो ।
पत्रकार महासङ्घ भोजपुरका अध्यक्ष श्यामकृष्ण दाहालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपा सुवेदी शर्मालाई शैक्षिक सामग्री तथा स्टेशनरी सामग्री हस्तान्तरण गरे । अध्यक्ष दाहालले दिगो स्रोतको अभावमा विभिन्न ठाउँबाट मागेर सञ्चालन गरिरहेको विद्यालयलाई सानो सहयोगले प्रोत्साहित गर्न महासङ्घले सहयोग गरेको बताए ।
कार्यक्रममा भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले समाचार लेख्ने मात्र नभएर पत्रकारले बहिरा विद्यालयको लागि गरेको यस सहयोगले सामाजिक कार्यप्रति थप जिम्मेवारीबोध गरेकोमा सह्राना व्यक्त गरे । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रयास भट्टराई, व्यवस्थापन समितिका पदाधिकारी, जिल्ला बहिरा सङ्घका अध्यक्ष सीताराम ओझालगायतको उपस्थिति थियो ।