विराटनगरः विराट आँखा अस्पतालले अत्याधुनिक मेशिनको प्रयोगबाट रेटिनाको शल्यक्रिया शुरु गरेको छ ।

अस्पतालले शुक्रबार पत्रकार सम्मलनको आयोजना गरी रु ३ करोड लागतमा खरीद गरिएको मेसिनबाट सेवा शुरु गरेको जनाएको छ । अस्पतालका सञ्चालक राजेश प्रसार्इंले उपचारका लागि आउने बिरामीमध्ये आँखाको पर्दा रेटिनाको शल्यक्रिया गर्नका लागि अन्य अस्पताल पठाउनुपर्ने समस्या अब अन्त्य भएको बताए ।

अस्पतालले वार्षिक १ लाख जनालाई बहिरङ्ग सेवा र १६ हजार बिरामीको शल्यक्रिया गर्दै आएको छ । देशमा करीब ३५ वटा आँखा अस्पताल रहेकामा यस्तो सेवा धेरै कम अस्पतालले उपलब्ध गराएको उनले बताए । सो सेवाबाट प्रदेश नं १ का साथै छिमेकी भारतको विहार लगायतका क्षेत्रका बिरामीलाई पनि फाइदा पुग्ने अस्पतालको दाबी छ ।