खोटाङः खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखा परेको छ । कम्मरमुनिको अङ्ग नचल्ने रोगले २ जना छोरीको मृत्यु हुनुका साथै ४ जना छोराछोरी थला परेपछि ठूलो समस्या देखा परेको हो ।

३० वर्षीया माइली छोरी कोपिला, २२ वर्षीया जन्तरी अनिषा, २० वर्षीया लखन्तरी मनिषा र कक्षा ९ मा अध्ययनरत कान्छा छोरा चेतराज विश्वकर्माको कम्मरमुनिको भागमा समस्या देखिएको छ । कम्मरमुनिको भाग नचलेपछि जबर्जस्ती हिँड्ने क्रममा अँगेनामा पर्दा मनिषाको खुट्टामा घाउसमेत भएको छ ।

जम्मा १३ छोराछोरी जन्मिएका विश्वकर्मा परिवारमा चार छोराछोरीको मृत्यु भइसकेको छ । २२ वर्षको उमेरमा साइँली शर्मिला र २५ वर्षको उमेरमा काइँली उषाको कम्मरमुनिको भाग नचल्ने रोगकै कारण मृत्यु भएको थियो ।

विश्वकर्मा परिवारमा अहिले ५ छोरी र ४ छोरा छन् । २ जनाको सानै उमेरमा मृत्यु भएको विश्वकर्मा परिवारले बताएको छ । ५ छोरीमा जेठी छोरी सङ्गीता र कान्छी छोरी अस्मिता तथा जेठा छोरा राजेन्द्र, माइला इन्द्रकुमार र साइँला कृष्णमा भने अहिलेसम्म रोग देखा परेको छैन । सङ्गीता विवाह गरेर गइसकेकी छिन् । कान्छी पढ्दै छिन् । कमजोर आर्थिक अवस्थाका विश्वकर्मा परिवारमा यस्तो समस्या माइली छोरी कोपिलाबाट शुरु भएको बताइन्छ ।


हिँड्ने क्रममा खुट्टा नलाग्ने, लाटिएर ढल्ने, भनेको समयमा भनेको ठाउँमा खुट्टा नपुग्ने, खुट्टाले टेक्न नमान्ने समस्याले कोपिला त थला नै बसिसकेकी छिन् । उनलाई कक्षा ५ पढ्दादेखि उक्त समस्या शुरु भएको आमा लक्ष्मीमायाले बताइन् । बाल्यकालमा अरु जस्तै जीवन बिताइरहेकी कोपिलालाई अहिले शौचालय लैजान तथा एक स्थानबाट अर्को स्थानमा लैजान आमाले बोकेर लानुपर्छ ।

कम्मरमुनिको भाग नचल्ने समस्या कोपिलामा शुरु भएको १२ वर्ष पुगेको बुबा वीरबहादुरले बताए । यही समस्या अन्य छोराछोरीमा पनि सर्दै गएको तर आर्थिक समस्याले उपचारमा लैजान नसक्दा थप २ जना छोरीको पनि अवस्था जटिल बन्दै गएको उनले बताए । अनिषा र मनिषाले एसईईसम्मको अध्ययन पूरा गरेका छन् । अनिषामा कम्मरमुनिको अङ्ग नचल्ने समस्या देखिएको ५ वर्ष भएको पारिवारले जनाएको छ ।

सोही समस्या मनिषामा देखा परेको २ वर्ष भएको छ । अनिषा, मनिषा र कोपिलालाई अहिले आमाले नै डोहो¥याएर घरभित्र÷बाहिर गराउनुका साथै शौचालय लानुपर्ने बाध्यता छ । कान्छा छोरा चेतराज पनि अहिले सहज तरिकाले हिँडडुल गर्न सक्दैनन् । हिँड्दा उनको खुट्टाले भर दिँदैन ।

खेतीपातीबाहेक आयस्रोतको अन्य विकल्प नभएको विश्वकर्मा परिवारमा एक्कासी उक्त समस्या देखापरेपछि बिचल्ली भएको छ । उनीहरूमा देखिएको समस्याको उपचार नेपालमा सम्भव नहुने स्वास्थ्यकर्मीले बताएको आफन्त तथा नगरकार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले बताए ।

भारतको गङ्गाराम अस्पतालमा मात्र उपचार हुने उनीहरुका लागि प्रतिव्यक्ति रु ८ लाख रुपैयाँ उपचार खर्च लाग्ने बताएपछि झनै समस्या भएको बताइएको छ । अहिलेसम्म राज्यको तर्फबाट कुनै सुविधा नपाएका पीडित विश्वकर्मा परिवारलाई नेपाली साझा मञ्चकी कार्यवाहक अध्यक्ष शारदा भुसालले नगद रु १० हजारसहित लत्ताकपडा उपलब्ध गराएकी थिइन् ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल र प्रहरी नायब उपरीक्षक राजकुमार केसीसहित पीडित परिवारको घरमा गएकी भुसालले थप उपचारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । अहिलेसम्म नेपाली नागरिकता र अपाङ्गता परिचयपत्रसमेत नपाएका पीडित परिवारलाई घरैमा नागरिकता र अपाङ्गता परिचयपत्र लगेर वितरण गर्ने प्रजिअ पौडेलले आश्वासन दिएका छन् ।