भोजपुरः भोजपुरमा हाल ५१ जना क्षयरोगका बिरामीले उपचार गराइरहेका छन् । गत आर्थिक वर्षको अन्तिम चौमासिक र यस आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्मको तथ्यांक अनुसार ५१ जना बिरामीहरू भेटिएका हुन् ।

यस आर्थिक वर्षमा २ महिलासहित २३ जना बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय भोजपुरका जनस्वास्थ्य अधिकृत विनोद मिश्रका अनुसार फोक्सोबाहेक अन्य अङ्गको क्षयरोगका बिरामीमा भने ७ महिला र २ पुरुष गरी ९ जना छन् । जिल्लामा देखिएका बिरामीहरूमा पहिलो चरणका बिरामीहरू बढी देखिएको बताइएको छ ।

दोस्रो चरणमा प्रवेश गरिसकेका बिरामी (एमडीआर) को जाँच तथा उपचारको लागि सम्पूर्ण सामान जिल्लामा आइसकेको भए पनि अस्पताल भवन बनिनसकेकाले सो सेवा सुचारु गर्न नसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पहिचान भएका बिरामीमध्ये अधिकांश भोजपुर अस्पतालमा गरिएको परीक्षणबाट पत्ता लागेको बताइएको छ । जिल्लामा जिल्ला अस्पताल, घोडेटार, प्याउली र दिङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा क्षयरोगका बिरामीहरुको खकार परीक्षण हुन्छ । औषधी वितरण भने जिल्लाभरका सबै स्वास्थ्य संस्थाबाट हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।