झापाः मेचीनगर नगरपालिका–९ स्थित फारामटोलका १५ वर्षमाथिका सबैको क्षयरोग जाँच शुरु गरिएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगसम्बन्धी स्थलगत अध्ययन कार्य (प्रिभ्यालेन्स सर्वेक्षण) अन्तर्गत क्षयरोगसम्बन्धी जाँच शुरु गरेको हो ।

वडाध्यक्ष गोपाल खड्काका अनुसार सो टोलमा १५ वर्षमाथिका ६ सय ६ जना रहेका छन् । ती सबैलाई क्षयरोगको जाँच गर्न शिविरको आयोजनाा गरिएको हो । मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा राष्ट्रिय क्षयरोग केन्द्रले शिविर सञ्चालन गरेको हो ।

केन्द्रका फिल्ड व्यवस्थापक केशवराज पाण्डेले उपचारको दायरामा नआइरहेका क्षयरोगका बिरामी कति छन् र तिनलाई कसरी समेट्ने भन्ने राष्ट्रिय रणनीति बनाउन झापाको तीन ठाउँसहित मुलुकभर ५५ जिल्लाको ९९ क्लस्टरमा सर्वेक्षण कार्य भइरहेको बताए ।
झापामा टाघनडुब्बा, शनिश्चरे र मेचीनगरमा सर्वेक्षण कार्य गरिएको हो । टाघनडुब्बामा ६ सय र शनिश्चरेमा ६ सय जनाको सर्वेक्षण पूरा भइसकेको बताइएको छ । सर्वेक्षण टोलीमा दुई चिकित्सक, दुई रेडियोग्राफर, दुई ल्याब टेक्निसियन, तीन स्टाफ नर्ससहित २५ जना कर्मचारी परिचालन भएका छन् ।

टोलीले क्षयरोग परीक्षणका लागि डिजिटल एक्स–रे मेसिन, कम्प्युटर, खकार र रगत जाँच्ने ल्याबसहित सूचना प्रविधिको अत्याधुनिक साधन प्रयोगमा ल्याउने गरेको छ । सर्वेक्षणमा परेका टोलवासीलाई शिविरमै सम्पूर्ण जाँच गर्ने व्यवस्था मिलाइएको छ ।

सर्भेक्षणमा खटिएको टोलीले केही दिनअघि नै मेचीनगर–९ को फारामटोलको घरघरै पुगेर ६ सय ६ जनालाई सर्वेक्षणमा सहभागिताको परिचयपत्र प्रदान गरिसकेको थियो । सर्वेक्षणमा सहभागी भएकालाई नेपाल टेलिकमको ५० रुपैयाँको मोबाइल रिचार्ज कार्ड र टी सर्ट दिने गरिएको बताइएको छ । शिविर भोलिसम्म सञ्चालन हुने बताइएको छ ।