झापाः आजदेखि शुरु भएको माध्यमिक तहको परीक्षा (एसइई)मा झापाबाट ४ जना कैदीबन्दी र २ जना न्यून दृष्टियुक्त व्यक्तिले परीक्षा दिएका छन् ।

कैदीबन्दीले झापा जिल्ला कारागारबाट नै परीक्षा दिएको शिक्षा विकास तथा समन्वय एकाई झापाका प्रमुख योगेन्द्र बरालले बताए । झापाकै दुई बाल कैदीबन्दीले भने बाल सुधारगृह सानोठिमीबाट परीक्षा दिइरहेका छन् । कारागारभित्र रहेका बन्दी विकास पुस्तकालयमा बसेर कैदीबन्दीले परीक्षा दिएका थिए ।

त्यस्तै, डिल्लीराज मावि कचनकवल र अनारमनी माविबाट १–१ जना न्यून दृष्टियुक्त व्यक्ति तथा बुद्धआदर्श मावि, पथरिया मावि कचनकवल, हिमाली मावि पृथ्वीनगरबाट १–१ जना अपाङ्गता भएका विद्यार्थी परीक्षामा सामेल भएको प्रमुख बरालले बताए ।

त्यसैगरी, सरस्वती मावि जामुनखाडी परीक्षा केन्द्रबाट ६ जना सुस्तश्रवण भएका व्यक्तिले परीक्षा दिएका छन् । उनीहरु सबै कनकाई मावि सुरुङ्गाका विद्यार्थी हुन् । झापाबाट ५३ वटा केन्द्रमा १५ हजार ५ सय ८७ विद्यार्थी परीक्षामा सामेल भएका छन् ।