झापाः पर्सि चैत १० बाट शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापामा चार महिला केन्द्राध्यक्ष तोकिएका छन् । 

जिल्ला विकास तथा समन्वय इकाइका अनुसार देवी मावि बिर्तामोडमा अम्बिकादेवी श्रेष्ठ, जनजागृति मावि हल्दीबारीमा इन्दिरा चुँडाल, भृकुटी मावि कनकाईमा अञ्जना सिटौला र जनता मावि गौरादहमा थानेश्वरी निरौलालाई तोकिएको छ । 

जिल्ला विकास तथा समन्वय इकाइ प्रमुख योगेन्द्र बरालका अनुसार  जिल्लाबाट १५ हजार ६ सय ८९ जना परीक्षार्थी सहभागी हुँदैछन् । हाजिर नपुगेका, राजस्व नबुझाएका, सम्पर्कमा नआएकासमेत गरी जिल्लाबाट १ सय २० विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । १५ स्थानीय तहमा ५३ वटा परीक्षा केन्द्र रहेका छन् । 

परीक्षालाई मर्यादित तुल्याउन परीक्षा केन्द्रमा सुरक्षाका लागि ५ सय ५० जना प्रहरी परिचालन हुने भएका छन् । प्रश्नपत्र परीक्षा केन्द्रको नजिकको प्रहरी कार्यालयमा पु¥याइएको छ भने उत्तरपुस्तिका सम्बद्ध केन्द्रमा पुगिसकेको बताइएको छ । एकाइ प्रमुख बरालले परीक्षालाई मर्यादित बनाउन विद्यालयको मूलद्वारमा विद्यार्थीको तलासी हुन सक्ने, परीक्षा केन्द्रसम्म मोबाइल लगिएको भए त्यसलाई ‘स्वीच अफ’ गरिने, निरीक्षकको क्रियाकलाप समेत अनुगमन गरिने, चिट चोर्न र चोराउन नदिइने बताए । 

उनले परीक्षा केन्द्रमा पुगेर स्थानीय तहका प्रमुख उपप्रमुख, शिक्षा इकाइका प्रमुख, जिल्ला परीक्षा समन्वय समितिका पदाधिकारी, शिक्षक युनियनका अध्यक्ष र उपाध्यक्षले निरीक्षण गर्न सक्ने पनि जनाए ।