विराटनगरः नोबेल शिक्षण अस्पतालले महिलाको पाठेघरमा रहेको छ किलोको ट्युमर सफलतापूर्वक निकालेको छ । इलामको शान्तिडाँडाकी ४२ वर्षीया कुसुम शाह ठकुरीको पाठेघरबाट ट्युमर निकालिएको हो । नोबेलको प्रसूति तथा स्त्री रोग विभागका एशोसिएट प्रोफेसर डा. शान्ति सुवेदी नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रियाको माध्यमबाट सफलतापूर्वक ट्युमर निकालेको हो ।

पाठेघरको सारकोमा नामले चिनिने यो ट्युमर १ लाख महिलामध्ये ३ देखि ७ जनामा मात्र हुने गरेको डा. सुवेदीको भनाइ छ । ‘प्राय बढीमा आधा केजी सम्मको मात्र ट्युमर पाइन्छ,’ उनले भनिन्, ‘यो एकदमै दुर्लभ ट्युमर हो ।’ चिकित्सकहरूका अनुसार सामान्यत सानो–सानो आकारका धेरै वटा ट्युमर हुन सक्छन् । तर, छ केजी सम्मको एउटै ट्युमर बिरलै मात्र पाइन्छ ।

करिव डेढ वर्ष अघिदेखि शाहको पेट अस्वभाविक रूपमा बढ्दै गएको थियो । खाना खानेबित्तिकै दिसा लाग्ने र पेट बढेर असहज हुने गथ्र्यो । ग्यास्टिकका कारण यस्तो भएको अनुमान लगाएर घरमै उपचार गरेको बिरामीका आफन्तको भनाइ थियो । त्यहाँबाट रेफर गरेपछि नोबेलमा आएर शल्यक्रिया गरी ट्युमर निकालिएको हो । पेटबाट ६ किलोको ट्युमर निस्किएपछि शाहको परिवार छक्क परेको थियो ।

पेटबाट मासुको त्यत्रो डल्लो निस्किँदा डर लागेको कुसुमले बताइन् । ‘पेट बढ्दै गएर असहज भइरहन्थ्यो । तर, के भएको थाहा नहुँदा अन्योलमा थिएँ’ अचम्म मान्दै उनले भनिन् ‘पेटबाट यत्रो मासु निस्किँदा म त छक्क परेँ ।’ भिडियो एक्सरे गर्दा ट्युमर रहेको थाहा भए पनि अप्रेसन गरेर ठुलो ट्यूमर निस्किँदा अचम्म लागेको कुसुमका बाबु श्याम शाह ठकुरीले सुनाए ।