ओखलढुङ्गाः रोजगारीको सिलसिलामा जापानमा रहेका युवाको सक्रियतामा ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाको सिस्नेरी निवासी मृगौलापीडित भेषकुमारी थापालाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
ओखलढुङ्गा सेवा समाज जापानका अध्यक्ष सन्तोष बानियाँ, उपाध्यक्ष सुरेश घिमिरे, सचिव फणिन्द्र पोखरेल र कोषाध्यक्ष विमल कार्कीको सक्रियतामा ५४ हजार १ सय रुपैयाँ सङ्कलन गरी पीडित भेषकुमारी थापालाई उपलब्ध गराएका छन । थापा मृगौलामा समस्या भई लामो समयदेखि काठमाडौंमा उपचाररत छिन् ।
परिवारको आर्थिक अवस्था नाजुक भएको र उपचारमा समस्या परेकाले श्रम गरेर कमाएको रकमको केही हिस्सा सहयोग गरेको समाजका उपाध्यक्ष सुरेश घिमिरेले जानकारी दिए । सङ्कलित रकम सांसद यज्ञराज सुनुवारले अस्पताल पुगेर बिरामीको आफन्तलाई प्रदान गरेका थिए ।