धरानः पब्लिक माध्यमिक विद्यालय धरान–१२ ले आफ्नो सेवा सुविधामा वृद्धि गर्न गरेको स्कुल बस खरीदको प्रयासमा भूतपूर्व विद्यार्थीहरूले हातेमालो गर्दै सहयोग गरेका छन् । २०५५ सालको ब्याचमा एसएलसी पास गरेर हाल अस्ट्रेलियामा रियल स्टेटको व्यवसाय गरिरहेका भूपू विद्यार्थी सरोज श्रेष्ठले नगद १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

पारिवारिक बिदामा धरान आएका श्रेष्ठले विद्यालयले स्कुल बस सञ्चालन गरेर धरान वरपर रहेका विद्यार्थीलाई सुविधा दिने सोचबाट प्रभावित भएर नगद सहयोग गरेको बताए ।

विभिन्न पेशा व्यवसाय गरी बसेका सो ब्याचका अन्य विद्यार्थीहरूलाई पनि समेटेर सबैबाट सहयोग सङ्कलन गर्दै विद्यालयलाई थप आर्थिक सहयोग उपलब्ध गराउने प्रयास रहेको सोही ब्याचका विजय घिमिरेले बताए । आफूले अध्ययन गरेको विद्यालयमा आधुनिक सुविधाहरू उपलब्ध हुनु भूपू विद्यार्थीको लागि गर्विलो क्षण हुने उनले बताए । सबै साथीहरू मिलेर पुराना साथीहरूलाई सम्पर्क गरिरहेको र सबैबाट सकारात्मक जवाफ आइरहेको हुनाले २०५५ को ब्याच तथा अन्य ब्याचबाट पनि सहयोग लिने उनले बताए ।

विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाका अनुसार २ वटा स्कुल बस खरीद गरी धरान (बजार क्षेत्र) लगायत पानबारी तथा पटनालीसम्मका विद्यार्थीलाई बस सेवा प्रदान गर्ने सोच रहेको छ । २००३ सालमा स्थापित विद्यालयमा भवन, विज्ञान प्रयोगशाला, खेलकुद सामग्री, मैदान लगायतका सुविधा रहे पनि थप सुविधाको लागि स्कुल बस खरीदको प्रयास गरिएको उनले बताए ।

schoo bus kharid  (2)