विराटनगरः उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले नोबेल शिक्षण अस्पताल गुणस्तरीय स्वास्थ्य उपचार केन्द्रका रूपमा विकास हुँदै गएको बताएका छन् । नोबेल अस्पताल निरीक्षणका क्रममा हिजो साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

नोबेल अस्पताल उच्च स्तरीय सेवा प्रवाहका हिसाबले अघि बढ्दै गएको यादवले बताए । पूर्वी भेगका लागि महत्वपूर्ण एवं गुणस्तरीय उपचार केन्द्रको रूपमा नोबेल अस्पताल रहेको उनले बताए ।

सरकारी स्तरबाट मात्र सवै कुरा सम्भव हुन नसक्ने भन्दै उनले सरकारी र निजी दुवै स्वास्थ्य संस्थालाई पार्टनरको रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए । मन्त्री यादवलाई नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, अन्तर्राष्ट्रिय निर्देशक डा.निरञ्जनकुमार लगायतले अस्पतालका बारेमा जानकारी गराएका थिए ।

सो क्रममा मन्त्री यादवले नोबेल अस्पतालका विभिन्न विभाग र त्यहाँबाट दिइने सेवाको निरीक्षण गरी बिरामी र बिरामीका आफन्तसँग कुराकानीसमेत गरेका थिए ।

Nobel-Ma-Swastha-Mantri-Photo-4