धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आएका स्वास्थ्य एवम् जनसङ्ख्या मन्त्री उपेन्द्र यादवको विरोधमा प्रतिष्ठानका कर्मचारीले हातमा कालो पट्टी बाँधेका छन् ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई ठोस कारणबिना नै बर्खास्त गरेको भन्दै स्वास्थ्यमन्त्री यादवको उनीहरूले विरोध गरेका हुन् । प्रतिष्ठानका भ्रष्ट व्यक्तिहरूलाई जोगाउन उपकुलपतिलाई बर्खास्त गरेको भन्दै उनीहरूले मन्त्री यादवलाई प्रतिष्ठानको मुख्य प्रवेशद्वारमा नै विरोध गरेका थिए ।
कर्मचारी कल्याण तदर्थ समितिले स्वास्थ्यमन्त्री स्वयम् प्रतिष्ठानलाई धराशायी बनाउन लागि परेको भन्दै विरोध गरेको हो ।
समितिका संयोजक राजन कोइरालाले आफूहरूले हातमा कालो पट्टी बाँधेर विरोध गरेको बताए ।
‘सर्वसाधरणहरू पनि विरोधमा सहभागी हुनुहुन्थ्यो,’ कोइरालाले भने, ‘उहाँहरूले पनि उपकुलपतिलाई बर्खास्त गर्नुको ठोस कारण माग्नुभएको थियो ।’
उता, प्रतिष्ठानको कर्मचारी कल्याण समाजले भने मन्त्री यादवको स्वागत गरेको छ । समाजका अध्यक्ष सुजेन्द्र तामाङले कर्मचारीहरूको तर्फबाट मन्त्री यादवको स्वागत गरेका थिए । प्रतिष्ठानभित्र कर्मचारीहरूका दुईवटा समितिबीच द्वन्द्व चल्दै आएको छ ।
सङ्घीय समाजवादी फोरम नेपालको धरानमा आज हुने कार्यक्रममा सहभागी हुन धरान आएका मन्त्री यादवलाई प्रतिष्ठानको गेस्ट हाउसमा खाना खाने र आराम गर्ने व्यवस्था मिलाइएको थियो ।
त्यसै क्रममा उनले प्रष्ठिान निरीक्षण गरेका थिए । प्रतिष्ठानको निरीक्षणपछि मन्त्री यादवले प्रतिष्ठानका विभागीय प्रमुख, डाक्टर, कर्मचारीबाट प्रतिष्ठानको अहिलेको अवस्था बुझ्ने र कर्मचारीका गुनासा सुन्ने काम गरेका थिए ।
त्यस क्रममा मन्त्री यादवले प्रतिष्ठानलाई व्यवस्थित गर्न सरकारले नीति तथा कार्यक्रम बनाउने बताएका थिए । उनले पदाधिकारी नियुक्तिमा राजनीतिक चलखेल र र आर्थिक चलखेल नहुने दाबी गरे ।
उपकुलपति रौनियारलाई बर्खास्त गरेको विषयमा बोल्दै उनले छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा जिम्मेवारीबाट हटाइएको बताए ।