भोजपुरः भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अगुवाइमा सो गाउँपालिकाको अन्नपूर्ण स्वास्थ्य चौकीमा बिरामीको लागि ल्याब सेवा शुरु गरिएको छ ।
ल्याब सेवा शुरु भएसँगै त्यस क्षेत्रका सर्वसाधारणको रगत, पिसाब दिसा, खकार लगायतको नमुना परीक्षणमा सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ ।
स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर गाउँपालिकाले यो वर्ष जनशक्ति र सामग्रीमा गरी करिब ३५ लाख रुपैयाँ खर्च गरेको गाउँपालिकाका प्रमुख धु्रवराज राईले बताए । ‘एक जना प्राविधिक गाउँपालिकाले तलब खुवाउने गरी करारमा राखेका छौं’, राईले भने, ‘बिरामीले आधारभूत रोगको परीक्षणका लागि बाहिर जानुपर्दैन ।’
गाउँपालिकाका स्वास्थ्य संयोजक दानप्रसाद राईले नयाँ स्थापना गरिएको ल्याबबाट ४१ प्रकारका परीक्षण हुने बताए । राईका अनुसार नमुना परीक्षणको रिपोर्टको आधारमा औषधोपचार गर्दा बिरामीको पनि सही उपचार हुनेछ ।
स्वास्थ्य चौकीमा राज्यको तर्फबाट ल्याब सेवा तथा प्राविधिक कर्मचारीको दरबन्दी नभए पनि गाउँपालिका आफैंले स्रोत परिचालन गरी सेवा शुरु गरेपछि स्थानीय खुशी भएका छन् । गाउँपालिकास्तरमा अब १५ शैया क्षमताको अस्पताल बनाउन पनि पहल शुरु भइसकेको प्रमुख राईले बताए ।
जिल्लाको दक्षिण, पूर्वी र उत्तरी केन्द्र हतुवागढी गाउँपालिका, अरुण गाउँपालिका र षडानन्द नगरपालिकामा डाक्टरको दरबन्दीसहितको प्राथमिक स्वास्थ्य केन्द्र भए पनि पश्चिमी केन्द्र अन्नपूर्ण यो सुविधाबाट वञ्चित थियो । यहाँ भोजपुरको पश्चिम क्षेत्र सँगै छिमेकी जिल्ला खोटाङका सर्वसाधारण समेत औषधी उपचारका लागि आउने गर्छन् ।