विराटनगरः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले आफ्नो पहिलो प्राथमिकता निजी विद्यालयमैत्री शिक्षा निर्माणमा पहल गर्ने बताएका छन् ।
पुरीले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले निजी विद्यालयलाई नियन्त्रण गर्न खोजिएको भन्दै सङ्घीय शिक्षा ऐन बन्दै गरेको अवस्थामा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
हालै सम्पन्न १४ औं महाधिवेशनबाट एकताको सन्देश दिन सर्वसम्मत नेतृत्व चयन गरिएको उनले बताए । उनले निजी विद्यालयका समस्याका बारेमा प्रधानमन्त्री र शिक्षामन्त्रीलाई पनि जानकारी गराइसकेको बताए ।
प्रधानमन्त्री र शिक्षामन्त्रीले निजी विद्यालयका विरुद्ध नभई नियमनसम्मत गर्ने गरी ऐन ल्याउने बताएको पनि उनले त्यस अवसरमा बताए । आफ्नो कार्यकालभित्र प्याब्सनको केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने र प्याब्सनलाई भरपर्दो, रहरलाग्दो सङ्गठनको रूपमा विकास गर्ने बताए ।
शिक्षालाई प्रविधि र सीप सँग जोड्न प्रत्येक विद्यालयमा प्रविधिको प्रयोग गर्ने र सोही अनुरूपको पाठ्यक्रम निर्माणमा जोड दिइने उनको भनाइ थियो ।