झापाः झापा गाउँपालिका–६ शरणामतीस्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत २४ विद्यार्थीलाई रु ३ हजारका दरले छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा स्थापित रमा–पदम स्मृति अक्षयकोषबाट २० विद्यार्थी र वैदेशिक रोजगार छात्रवृत्तिबापत ४ गरी २४ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।
विद्यालयमा कनकाई नगरपालिका–३ का प्रतिमान उप्रेती र गङ्गादेवी उप्रेतीद्वारा आमाबुबाको नाममा ‘रमा–पदम स्मृतिकोष’ स्थापना गरिएको थियो । त्यस्तै वैदेशिक रोजगारीका लागि कतार पुगेका शरणामतीका युवाले प्रवासी शरणामती युवा समूह विसं २०६५ मा गठन गरेर ‘वैदेशिक रोजगार छात्रवृत्ति कोष’को स्थापना गरेका थिए ।
विपन्न तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहनस्वरूप दुवै अक्षयकोषबाट प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम कार्कीले बताए ।