विराटनगरः अनुसन्धान विधालाई प्राथमिकतामा राख्न विज्ञहरूले जोड दिएका छन् । शुक्रबार विराटनगरस्थित विराटनगर मेडिकल कलेजकाे डिपार्टमेन्ट अफ कम्युनिटी रिसर्च तथा डेभलपमेन्ट प्रोग्रामले गरेको १५ दिने इभिडेन्स बेस साइन्टिफिस रिसर्च ट्रेनिङमा सहभागी भएका विभिन्न विषयका विज्ञहरूले तीन वटै तहका सरकारले योजनामा अनुसन्धान विधा अटाउनुपर्ने धारणा राखेका हुन् ।

प्रोफेसर देवेन्द्र अधिकारीले सामुदायिक क्षेत्रमा तल्लो तहसम्म पुगेर अनुसन्धान हुन नसकेको बताए । ‘यदि माइक्रो रिसर्च हुने हो भने कस्तो ठाउँमा कुन लेभलको विकास आवश्यक हुन्छ भन्ने कुरा यकिन हुन्छ,’ उनले भने । चिकित्सकीय पेशामा मात्र नभएर समाजका हरेक ठाउँमा यसको महत्व समान भएको भन्दै नीति निर्माण तहमा बसेका जिम्मेवार व्यक्तिले यसलाई ग्रहण गर्न नसक्दा विकास अलमलिएको उनको टिप्पणी छ ।

दीर्घकालिन विकास र दुरगामी सोचका लागि सबै विधामा सुक्ष्म अनुसन्धान आवश्यक रहेको भन्दै मुख्य गरी स्थानीय जनप्रतिनिधिलाई यसबारेमा बुझाउन सक्नुपर्ने अधिकारीको धारणा थियो ।

talim  (2)

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका असिस्टेन्ट प्रोफेसर डाक्टर लोकबहादुर श्रेष्ठले हरेक क्षेत्रका विद्यार्थीले अनुसन्धानलाई आत्मासात गरे मात्र लक्ष्य प्राप्त गर्न सफल हुने बताए । ‘केही शैक्षिक संस्थाले मात्र एकेडेमिक ज्ञान हासिल गर्न अनुसन्धानलाई अनिवार्य गरेका छन्’, उनले भने, ‘तर यो समाजका हरेक ठाउँमा अनुसन्धानमूलक काम हुनु जरुरी छ ।’

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत चिकित्सक डाक्टर प्रज्वल प्याकुरेलले क्लिनिकल बेस भएर काम गर्ने चिकित्सकले समुदायलाई अनुभव हस्तान्तरण गर्नुपर्ने बताए । ‘आफूले मात्र सीप, ज्ञान आर्जन गरे त व्यक्तिमात्र विद्वान भयो’, उनले भने, ‘जानेको र अनुसन्धान गरेर हासिल गरेको सीपलाई बुझाउन सक्नुपर्छ ।’ उनले तीन तहकै सरकारले पनि अनुसन्धानको क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

कलेजका अध्यक्ष ज्ञानेन्द्रमान सिंह कार्कीले जीवनकालको अनुभवलाई हस्तान्तरण गर्न पनि अनुसन्धान आवश्यक रहेको बताए । आफ्नो चिकित्सकीय जीवनको सिकाइले अनुसन्धान मुख्य पाटो रहेको बुझेको भन्दै हरेक युवा वर्गले अनुसन्धानको जग खन्दै करियर निर्माण गर्न सक्नेमा विश्वस्त तुल्याए ।

Birat medical collage biratnagar pradeshportal.com  (1)

‘गहिरो अनुसन्धानले व्यक्तिको जीवनकालभर मात्र होइन, जीवनपर्यन्त पनि समाजलाई योगदान दिइरहन्छ,’ कार्कीले भने । उनले आफू आबद्ध मेडिकल कलेजले हरेक वर्ष यस क्षेत्रमा लगानी गर्ने बताए ।

कार्यक्रममा संयोजक तथा चिकित्सक एवंम प्रमुख अनुसन्धानकर्ता डाक्टर सूर्यबहादुर पराजुलीले विराट मेडिकल कलेजलाई प्रदेश १ कै अनुसन्धान हबको रूपमा विकास गर्ने बताए । अनुसन्धानलगायत महत्वपूर्ण कार्यक्रमका लागि संस्थाले सम्पूर्ण सहयोग गर्न तत्पर रहेको हुँदा अनुसन्धान विधाका विषयगत क्षेत्रको कामलाई निरन्तरता दिने उनले बताए ।

Dr. Surya Parajuli

पूर्वाधार निर्माण मात्र विकास नभई सुक्ष्म अनुसन्धानमार्फत् हुने उपलब्धिलाई पनि विकासको सूचकको रूपमा राख्नुपर्नेमा विज्ञहरूको जोड थियो ।

१५ दिनसम्म चल्ने तालिममा विभिन्न क्षेत्रका युवाहरूको सहभागिता रहेको छ । उनीहरूलाई रिसर्च एण्ड पब्लिक इथिक्स, रिसर्च प्रपोजल राइटिङ, राइटिङ अ रिसर्च पेपर र जर्नल पब्लिकेसनका बारेमा विषयगत दक्ष प्रशिक्षकले प्रशिक्षित गर्ने भएका छन् ।

talim  (3)