विराटनगरः प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभाको यही अधिवेशनबाट मनमोहन पोलिटेक्निक इन्स्टिच्युटलाई प्राविधिक विश्वविद्यालयका रूपमा स्थापना गरिने बताएका छन् ।
विष्णुमाया पुस्तकालय विराटनगरद्वारा आयोजित पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको श्रद्धाञ्जलिसभामा मन्त्री आङ्बोले स्व अधिकारीको सपनालाई साकार बनाउन प्राविधिक विश्वविद्यालय स्थापना गरी युवालाई दक्ष जनशक्तिका रूपमा तयार गरिने बताए । आगामी वर्षदेखि आङ्गिक क्याम्पसले पठनपाठन शुरु गर्ने उनले बताए ।
स्व अधिकारीले मुलुकको संविधान निर्माण गर्ने कार्यमा सन्तुलित भूमिका निर्वाह गरेको मन्त्री आङ्बोको भनाइ थियो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अधिकारी र बालकृष्ण पोखरेलको निधनबाट अपूरणीय क्षति पुगेको बताए । प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीले स्व अधिकारीले राजनीतिलाई निष्ठा, आदर्श र समाजसेवाका रूपमा प्रयोग गरेकाले यसलाई अनुशरण गर्नुपर्नेमा जोड दिए ।
सभामा पूर्वशिक्षामन्त्री राधाप्रसाद घिमिरे, पूर्वसङ्घीय सांसद ऋषिकेश पोखरेल, कृष्ण पोखरेल, डा. भेषप्रसाद धमलालगायतले आ–आफ्नो धारणा राखेका थिए ।