धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यवाहक उपकुलपतिको जिम्मेवारी प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा गुरुप्रसाद खनालले पाएका छन् ।
गत फागुन १७ गते प्रतिष्ठानको सिनेट बैठकबाट उपकुलपति राजकुमार रौनियारलाई बर्खास्त गर्न सिफारिश भएपछि उनलाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिइएको थियो । तर, बर्खास्तको सिफारिश भएका उपकुलपति रौनियारले बर्खास्तको सिफारिश सदर नभएसम्म आफू नै उपकुलपति रहेको भन्दै कार्य सम्पादन गर्ने गरेका थिए ।
प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिष्ठानको कार्यकारिणी सभा (सिनेट)बाट उपकुलपति बर्खास्त गर्न गरेको सिफारिश सदर गरेपछि खनालले औपचारिक रूपमा कार्यवाहक उपकुलपतिको रूपमा जिम्मेवारी पाएका हुन् । प्रतिष्ठानका शिक्षाध्यक्ष उपकुलपति पछाडिको दोस्रो बरियतामा रहने भएकाले पनि खनालले कार्यवाहक उपकुलपतिको जिम्मेवारी पाएका हन् ।
उनी प्रतिष्ठानमा आर्थिक विवादमा नपरेका डाक्टर पनि हुन् । तर पछिल्लो समय अख्तियारबाट छानबिन भइरहेका र आर्थिक अनियमितामा संलग्न रहेको आरोप लागेका रजिष्टार तुलबहादुर श्रेष्ठसँगको सम्बन्धको विषयलाई लिएर उनको आलोचना हुन भने थालेको छ ।