पाँचथरः पाँचथर जिल्लाको सदरमुकाम फिदिममा सञ्चालनमा रहेका इन्स्टिच्युट दर्ता बिना नै चलिरहेका छन् । एक दुई वटाबाहेक अन्य भने दर्ता नै नभए पनि सदरमुकाम क्षेत्रमा सञ्चालित त्यस्ता इन्स्टिच्युटले लाखौँ रकम उठाए पनि राजस्व भने तिरेका छैनन् ।
सदरमुकाम क्षेत्रमै सञ्चालनमा रहेका केही इन्स्टिच्युटले त नाम नै टुङ्गो नलगाई धमाधम कक्षा चलाइरहेका छन् । नियमनकारी निकायले प्रभावकारी र कडा कदम नचाल्दा स्थानीय सरकारले आम्दानीको स्रोत समेत गुमाइरहेका छन् ।
फिदिमको मेन रोडस्थित एनआइसी एशिया बैैंकको भुइँतलामा रहेको इन्स्टिच्युटको नाम नै यकिन छैन । फिदिम नगरपालिका सहितका सारोकारवाला निकायका पदाधिकारीको टोली अनुगमनका क्रममा त्यहाँ पुग्दा सञ्चालक मध्येका केहीले श्रद्धा इन्स्टिच्युट भन्दै थिए भने केहीले सेवारो इन्स्टिच्युट हो भन्दै थिए ।
नाम नै टुङ्गो नलागी सञ्चालनमा रहेको उक्त इन्स्टिच्युटले दैनिक १५ जना भन्दा बढीलाई कोरियन भाषा अध्ययन गराइरहेको छ । बाहिर राखिएको बोर्डमा सेवारो इन्स्टिच्युट भनेर उल्लेख भएको भए पनि विज्ञापन गर्दा सञ्चालकले श्रद्धा इन्स्टिच्युट भनेर गरेका छन् ।
अनुगमन टोलीले त्यसबाहेक जिल्लामा रहेका अधिकांश इन्स्टिच्युट दर्ता बिना नै सञ्चालनमा रहेको पाएको छ । बुधबार अनुगमन गरिएका इन्स्टिच्युटमध्ये गोर्खा इस्टपोल इन्स्टिच्युटबाहेक कुनैको पनि दर्ता प्रक्रिया पूरा भएको छैन ।
कोरियन भाषाका लागि मात्रै जिल्लामा आधा दर्जन इन्स्टिच्युटमा कक्षा सञ्चालन हुन्छ भने जापानिज भाषाका लागि पनि त्यत्तिकै मात्रमा इन्स्टिच्युट खुलेका छन् । तर ती इन्स्टिच्युटले मापदण्ड भने पूरा गरेका छैनन् ।
नियमनकारी निकायको नियमित अनुगमन नगर्ने प्रवृत्तिका कारण पनि त्यो समस्या देखिएको हो । जिल्लामा इन्स्टिच्युटको अनुगमन नै पहिलो पटक भएको हो । बुधवार भएको अनुगमनमा जिल्ला शिक्षा समन्वय समिति, फिदिम नगरपालिका, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सहभागी थिए ।
फिदिम नगरपालिकाले निर्माण गरेको शिक्षा नियमावली २०७४ मा नगरपालिकाकोे अनुमती बिना ट्युसन सेन्टर, ब्रिज कोर्ष भाषा शिक्षक कक्षा वा लोक सेवा तथा शिक्षक सेवा तथा अन्य बैंक वित्तीय संस्थाका पूर्व तयारी कक्षा खोल्न नपाइने र हाल सञ्चालनमा रहेका संस्थाले नियम लागू भएको १ महिनाभित्र दर्ता गरिसक्नु पर्ने प्रावधान छ ।
नियम लागू भएको १ वर्ष बितिसक्दा पनि नियमको उल्लङ्घन भइरहेको छ । अनुगमनलाई प्रभावकारी बनाउँदै दर्ताका लागि आह्वान गरिने फिदिम नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रेम गौतमले बताए ।