इटहरीः निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४ औँ राष्ट्रिय महाधिवेशनबाट टीकाराम पुरी अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
आज सम्पन्न महाधिवेशनले पुरीलाई अध्यक्षमा चयन गरेको निर्वाचन कार्यदलका सदस्य भोजबहादुर शाहले जानकारी दिए । नयाँ नेतृत्वका लागि पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरूको पहलमा सहमतिमा नेतृत्व चयन भएको हो ।
महाधिवेशनको बन्दसत्रमा प्याब्सनका पूर्वअध्यक्ष शाहले प्याब्सनमा सबैलाई समेट्नका लागि सहमति गरिएको बताए । विधान संशोधन गरी सहअध्यक्ष पद नयाँ सिर्जना गरी प्याब्सनमा सहमति गरिएको थियो । सहमति हुनुभन्दा अगाडि विधान संशोधन गरिएको थियो । अध्यक्षका अर्का प्रत्यासी ढुङ्गानालाई सहअध्यक्ष बनाइएको छ ।
प्याब्सनको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ, खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, टिआर ढकाल, दीपिका रिमाल थापा, कृष्णप्रसाद अधिकारी, टङ्क भट्टराई, गोपालप्रसाद आचार्य र भरतबाबु कँडेल निर्वाचित भएका छन् ।
यसैगरी महासचिवमा कुमार घिमिरे, उपमहासचिवमा आरबी कटुवाल र किशोर गौतम तथा कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने निर्वाचित भएका छन् ।
प्रदेश नम्बर १ को उपाध्यक्षमा नारायणप्रसाद घिमिरे निर्वाचित भएका छन् । २ हजार ४ सय ३८ प्रतिनिधि सहभागी महाधिवेशनको मङ्गलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका थिए । प्याब्सनमा २५ पदाधिकारी र ४४ केन्द्रीय सदस्य रहने व्यवस्था छ । ती पदका लागि कुल १ सय ३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।