फाइल तस्बिर

धरानः ३ दिनभित्र आर्थिक विवरण सार्वजनिक गर्ने सहमति गरेसँगै महेन्द्र बहुमुखी क्याम्पस धरानको प्रशासन र स्ववियुमा लागेको ताला बुधबार खुलेको छ ।

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले लगाएको ताला क्याम्पस प्रशासनको पहलमा बैठक बसी खुलेको हो । स्ववियुले आर्थिक विवरण ३ दिनभित्र सार्वजनिक गर्ने लगायतका ३ बुँदे सहमति भएपछि ताला खुलेको हो ।

कलेज प्रशासनको पहलमा बिहान सर्वदलीय बैठक भएको थियो । त्यसलगत्तै स्ववियु र विद्यार्थी सङ्गठनहरूसँग प्रशासनले बैठक राखेको थियो । बैठकम भएको ३ बुँदे सहमतिपश्चात सङ्गठनले लगाएको ताला खोलेको अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष सुजन खत्रीले बताए ।

‘उनीहरू (स्ववियु) ले हालसम्म भए गरेका आम्दानी तथा खर्चको आर्थिक प्रतिवेदन ३ दिनभित्र विद्यार्थी सङ्गठनहरूलाई जानकारी गराउने निर्णय भएको छ’, खत्रीले भने, ‘हामीले स्ववियुमा लगाएको ताला हिजो (मङ्गलबार) दिउँसो तोडिएकोमा स्ववियुले दुःख व्यक्त गरेको छ ।’

बैठकमा क्याम्पस प्रमुख चन्द्रकुमार राई, सहायक क्याम्पस प्रमुखद्वय सुमित्रादेवी रेग्मी, यमनाथ बराल, स्ववियु सभापति सागर सरगम लिम्बूलगायत प्रमुख विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति थियो ।