झापाः मेची कृषक बहुमुखी सहकारी संस्था मेचीनगरको आयोजना तथा नोबेल अस्पताल विराटनगरको प्राविधिक सहयोगमा बुधबार झापाको मेचीनगरमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा भएको शिविरमा स्त्री रोग, हाडजोर्नी, नाक, कान, घाँटी, पेट, मुटु, आँखा, दन्तलगायतका करीब साढे ६ सय जना रोगीले सेवा लिएका थिए ।

शिविरमा ईसीजी, अल्ट्रासाउण्ड पूर्ण रूपमा निःशुल्क थियो भने प्रयोगशालामा २ हजार ५ सय रुपैयाँसम्मको परीक्षणमा छुट दिइएको थियो । संस्थाका व्यवस्थापक दीपक काफ्लेका अनुसार शिविरमा ईसीजी र अल्ट्रासाउण्डको सेवा ६५÷६५ जनाले लिएका थिए ।

स्वास्थ्य परीक्षण गर्दा शल्यक्रिया गर्नुपर्ने बिरामी फेला परे संस्थाको सिफारिशमा ५ जनासम्मको नोबेल अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिने जनाएको छ । अस्पतालका प्रबन्ध निर्देशक नारायणप्रसाद दाहालको नेतृत्वमा आएको प्राविधिक टोलीले शिविरमा स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

शिविरमा डाक्टर अमरकुमार यादव र कृष्णमुरारी यादव फिजिसियन, शाकीर राईन हाडजोर्नी रोग विशेषज्ञ, सन्तोष चौधरी बालरोग विशेषज्ञ, हेमनारायण अमात्य महिला तथा स्त्री रोग विशेषज्ञ, दीपक चौधरी इएनटीका विशेषज्ञले सेवा दिएका थिए ।

त्यस्तै, कृष्ण चौधरी आँखा रोग विशेषज्ञ, जुरुस सभा र सरिता राउत दन्त रोग विशेषज्ञ, रवीन्द्र यादव रेडियोलोजिष्ट, झलनाथ पोखरेल ल्याब टेक्निसियन, वर्षा काफ्ले, मुना विष्ट, इषा दिलपाली स्टाफ नर्स, तथा लीलाप्रसाद गौतम प्रविधिकको रूपमा सहभागी थिए ।

संस्थाका उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाका अनुसार मेचीनगर नगरपालिकालगायत बुद्धशान्ति गाउँपालिका तथा छिमेकी जिल्लाका नगरपालिका र गाउँपालिकाबाट आएकाले स्वास्थ्य सेवा लिएका थिए ।