धरानः महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु पदाधिकारीले आर्थिक अनियमितता गरेको भन्दै पूर्व एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु र पूर्व माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले सोमबार स्ववियु कार्यालयमा लगाएको ताला मङ्गलबार फुटाइएको छ ।

स्ववियु सभामा आफूखुशी गरेको र सभामा प्रस्तुत आर्थिक प्रतिवेदन गलत भएको भन्दै दुवै सङ्गठनले सोमबार स्ववियुको कार्यालयमा ताला लगाएका थिए ।

मङ्गलबार स्ववियु सभापति सागर सरगमले सङ्घीय समाजवादीका कार्यकर्तालाई क्याम्पसबाहिर राखेर भित्र अन्य विद्यार्थी उचालेर ताला फुटाएका थिए । अखिलका दुवै सङ्गठनले स्ववियुको कार्यालयमा पुनः ताला लगाएका छन् ।


आफूहरूको मागको बेवास्ता गरेको र स्ववियुमा भएको भ्रस्टाचार लुकाउन सहयोग गरेको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा पनि उनीहरूले ताला लगाएका छन् ।

क्याम्पसमा तनावको अवस्था आएपछि मङ्गलबार दिनभर प्रहरीले सुरक्षा दिएको थियो । अनेरास्ववियुका क्याम्पस कमिटी अध्यक्ष सुजन खत्री र अनेरास्ववियुका क्याम्पस कमिटी सचिव हेमराज राईले संयुक्त रूपमा क्याम्पस प्रशासनलाई ४ बुँदे मागपत्र पनि बुझाएका छन् । उनीहरूले ताला फुटाउनेलाई कारबाही गर्नुपर्ने, पुनः स्ववियु सभा हुनु पर्ने, स्ववियुको हिसाब पारदर्शी हुनुपर्ने जस्ता माग राखेका छन् ।

अनेरास्ववियु अध्यक्ष सुजन खत्रीले स्ववियुका पदाधिकारीले स्ववियु कोषबाट ३० हजारको टिसर्ट लगाएको, धरान उपमहानगरपालिका र क्याम्पसको संयुक्त लगानीमा निर्माण भएको पार्किङ क्षेत्रमा स्ववियुले खर्च गरेको देखाएको आरोप लगाएका छन् । त्यस्तै, २ वर्षमा २ पटक भएको विद्यार्थी स्वागत तथा बिदाइ कार्यक्रमलाई ७ पटक गरेको देखाएको भन्दै स्ववियु पदाधिकारीले आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् ।

यता, स्ववियु सचिव दोर्ची शेर्पाले आर्थिक प्रतिवेदनमा केही कमजोरी भएको स्वीकार गरेका छन् । उनले आफूहरूले कुनै आर्थिक अनियमितता नगरेको तर प्रतिवेदन बनाउने क्रममा केही गल्ती भएको बताए ।